गाली बेइज्जतीको जाहेरीपछि पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्। उनीसँगै उनकी श्रीमती सनुजा श्रेष्ठ पनि छुटेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले नेपालखबरलाई जानकारी दिए।
यसअघि महरविरुद्ध जाहेरी दिने महिलालाई पनि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गरेको थियो। महरले उनीविरुद्ध ब्युरोमै जाहेरी दिएका थिए।
सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले भने, ‘उहाँहरूको दोहोरो उजुरी देखियो। यसअघि महरको उजुरीमा महिला पक्राउ पर्दा पनि हाजिरी जमानीमै राखेर अनुसन्धान गर्न भनिएको थियो। अहिले तिनै महिलाले उजुरी दिएपछि उहाँलाई म्याद थपका लागि हामी कहाँ ल्याइएको थियो। तर अदालत नलगि हाजिरी जमानीमा राखेर अनुसन्धान गर्नु भनेर रिहा गरियो।’
महरसँगै उनकी पत्नी पनि प्रहरीमा सँगै उपस्थित भएकी थिइन्। उनीविरुद्ध पनि छुट्टै उजुरी थियो। सरकारी वकिल कार्यालयले उनलाई पनि हाजिरी जमानीमै रिहा गरिदिएको छ।
आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि महर अनुसन्धानमा सघाउने भन्दै आफैँ साइबर ब्युरोमा उपस्थित भएका थिए।
Shares

प्रतिक्रिया