नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं सांसद माधव सापकोटाले मुलुकमा विद्यमान राजनीतिक समस्याहरूको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमार्फत मात्र सम्भव हुने बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले पूर्ण समानुपाति निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे भइरहेका बहसहरू अर्थहीन हुने टिप्पणी गरे।
'पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे जुन बहस गरिरहेका छौं यो अन्त्यहीन प्रकारको बहस हुन्छ। नेपाली कांग्रेस र नेकपा (एमाले) आजको दिनमा तयार हुनुभयो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने कुरा धेरै ठूलो कुरा पनि होइन,' उनले भने, 'तर ती दुई पार्टी त्यहाँ पुगिसक्नुभएको छैन। यद्धपी दलका तर्फबाट अहिले पनि हाम्रो स्पष्ट दृष्टिकोण के छ भने पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने हो। राष्ट्रप्रमुख राष्ट्रपति बनाउने कि प्रधानमन्त्री बनाउने भन्ने विषयमा आवश्यक छलफल गर्न सकिन्छ।'
उनले माओवादीको स्पष्ट दृष्टिकोण नै प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निवार्चन प्रणाली जाने रहेको बताए।
'संविधानलाई समृद्ध तुल्याउने सन्दर्भमा माओवादीको प्रष्ट दृष्टिकोण भनेको प्रत्यक्ष निर्वाचि कार्यकारी राष्ट्रप्रमुख, सांसदहरूले मन्त्री नहुने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएर मात्रै आजको दिनमा उठेका समस्याहरूको हल गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण छ’उनले भने।
Shares

प्रतिक्रिया