नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालमा नीतिगत निरन्तरताको उदाहरण जलविद्युत क्षेत्रलाई लिन सकिने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा २० वर्षदेखि एउटै नीति रहेको बताए।
जसको परिणाम आज नेपाल लोडसेडिङ मुक्त भएको जिकिर गरे। साथै नेपालले छिमेकमा निर्यात गर्दै आइरहेको भन्दै नेपाल अब विद्युतमा आत्मनिर्भर बनेको दाबी गरे।
उपमहासचिव पुनले भने, ‘प्रश्न उठ्ने गर्दछ, नेपालमा नीतिगत निरन्तरता छैन भनेर तर एउटै क्षेत्र हो, उर्जा क्षेत्र, खासगरी जलविद्युतको क्षेत्रमा, नविकरणीय उर्जाको क्षेत्रमा नीतिको निरन्तरता छ। झन्डै दुई दशकदेखि एउटै नीति छ। जसको परिणाम आज हामी कुनै बेला १८ घण्टासम्म लोडसेडिङ हुने देशमा थियौँ, अन्त्य भयो। छिमेकमा निर्यात गर्दै आएका थियौँ। अहिले हामी उर्जा क्षेत्रमा आत्मनिर्भर भएका छौँ।’
नेपालमा नदी प्रवाहित आयोजनाहरू बढी रहेको उल्लेख गर्दै जलाशययुक्त आयोजनामा जानुपर्ने आवश्यकता रहेको पनि पुनले बताए।
उनले भने, ‘हाम्रा नदी प्रवाहित आयोजनाहरु बढी छन्। अहिले पनि हामी हिउँदमा आत्मनिर्भर हुन सकिरहेका छैनौँ। कुनै न कुनै किसिमले हामीले जलाशययुक्त आयोजनामा जानुपर्ने हुन्छ।’
उपमहासचिव पुनले उत्पादित विद्युत बिक्रीका लागि बजारको समस्या नरहेको बताए।
Shares

प्रतिक्रिया