राजनीति


उपसभामुख इन्दिरा राना जोडिएको संस्था र बालबालिकाबारे प्रहरीले थाल्यो ‘अध्ययन’

उपसभामुख इन्दिरा राना जोडिएको संस्था र बालबालिकाबारे प्रहरीले थाल्यो ‘अध्ययन’

उपसभामुख इन्दिरा राना। फाइल तस्बिर


नेपालखबर
भदौ ९, २०८२ सोमबार १८:५३, काठमाडौँ

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानासमेतको संलग्नतामा बालबालिका गैरकानुनी रूपमा स्थानान्तरण गरिएको विषय संसदमै उठेपछि प्रहरीले चासो देखाएको छ।

राना कार्यकारी प्रमुख रहेको प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थाले अवैध रूपमा बालबालिका ओसारपसार गरेको विषय प्रतिनिधि सभाको बैठकमै उठेको थियो। 

आफू अमेरिका जाने कार्यक्रममा असम्बन्धित व्यक्तिलाई पनि भिसाका लागि सिफारिस गरेको पत्रलाई लिएर रानालाई सत्तापक्षले हटाउने प्रयास गरिरहेकै बेला बालबालिका ओसारपसारको विषय सतहमा मात्र आएको छैन, प्रहरीले नै अध्ययन अघि बढाएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  (सीआईबी) का प्रमुख एआईजी चन्द्रकुबेर खापुङले सार्वजनिक भएको विषयबारे सत्यतथ्य सूचना संकलनको काम भइरहेको नेपालखबरसँग बताए। 

‘मिडियामा धेरै कुरा सार्वजनिक भइसकेको छ। यसरी सार्वजनिक भइसकेपछि यो विषय राष्ट्रिय स्तरमा उठ्ला, संसदमा उठ्ला। जुनसुकै बेला प्रहरीले, गृहमन्त्रीले जवाफ दिनुपर्ने अवस्था आउन सक्छ। त्यसो भएको हुनाले वास्तविकता के रहेछ भनेर निर्क्योलमा पुग्न हामीले अहिले बुझ्ने काम गरिरहेका छौँ,’ एआईजी खापुङले नेपालखबरसँग भने। 

अहिले नै कुनै उजुरी भने प्रहरीमा परिनसकेको तर प्रहरी अलर्टमा रहेको र मागेको बेला जवाफ दिन सक्ने अवस्थामा रहने पनि उनले बताए। 

उनका अनुसार, सीआईबीले मानव बेचबिखन अनुसन्धान ब्युरोलाई यस विषयमा सूचना संकलनका लागि निर्देशन दिएको छ। 

ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले ती प्रश्न उठाइएको बालबालिकाको विषयमा बुझ्ने काम भइरहेको बताए। 

‘बाहिर आएका तथ्यहरूको वैधता जाँच्दै छौँ। बाल संगठनबाट बच्चाहरू जबर्जस्ती लगिएको भनिएको छ। के कसरी लगिएको हो? कहाँ लगिएको छ? उनीहरूको विवरण के हो? बुझ्ने काम गरिरहेका छौँ,’ कुँवरले भने, ‘प्रक्रिया पुगेको छ कि छैन? बेचबिखन भएको हो कि होइन? हामी हेरिरहेका छौँ। बालबालिकाको संरक्षण गर्नु राज्यको दायित्व पनि हो।’

पाँच वर्षपहिले नै बेलायती नागरिकलाई बच्चा दिएको आरोपमा नेपाल बाल संगठनका अधिकारी पक्राउ परेका थिए। त्यसपछि सरकारले बाल संगठनमा भएका गैरकानुनी गतिविधिको छानबिन गर्न पूर्वन्यायाधीश हरिबाबु भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। 

उक्त समितिको प्रतिवेदन भने हालसम्म औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। तर, समितिको प्रतिवेदनमै इन्दिरा रानाको संस्थाले अवैध रूपमा बालबालिका लगेको उल्लेख रहेको दाबीसहितका विवरण बाहिरिएका छन्। 

बालगृहहरूमा नेपाल सरकारले जारी गरेका मापदण्डहरू पालना नभएको र एउटा बालगृहबाट अर्को बालगृहमा गैरकानुनी रूपमा स्थानान्तरण गरेको पाइएको त्यसबेलाको प्रतिवेदनमा उल्लेख छ। सोही प्रतिवेदनमा बाल संगठनकी अध्यक्ष रीता सिंह वैद्यले कतिपय पूर्वकर्मचारीहरू नै बालबालिकालाई विदेशमा समेत पठाउने कार्यमा संलग्न रहेको बयान लेखाएकी थिइन्। उनैले इन्दिरा रानाको संस्थाले पनि मागेकाले बच्चाहरू पठाएको खुलाएकी थिइन्। 

प्रतिवेदनमा उल्लेख भएका यिनै विषयलाई लिएर अहिले रानामाथि प्रश्न उठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad