नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बुले करोडौँ रुपैयाँ चन्दा दिन तयार हुने निजी विद्यालय ५ जना विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ भन्दा खुट्टा कमाउने कुरा राम्रो नभएको बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले अहिले आएको विद्यालय शिक्षा विधेयक प्रगतिशिल रहेको समेत दाबी गरे।
‘चन्दा दिने बेलामा करोडौँ दिन तयार हुने निजी क्षेत्रका साथीहरू हामीलाई थाहा छ, ५ जना विद्यार्थीलाई निःशुल्क पढाउने कुरामा खुट्टै कमाउनुपर्छ भन्नेकुरा होइन नि,’ लिम्बुले भने, ‘यो विधेयक प्रगतिशिल छ, शिक्षक साथीहरुले जुन ढंगको कोकोहोला गरिरहनुभएको छ, कतिले कुनै नेतालाई घेरेका छन्, अर्कोले अर्को नेतालाई घेरेका छन्। नेताहरू अडिन नसकेको कारणले पनि यो समस्या खडा भएको छ।’
निजी क्षेत्रलाई विश्वासमा लिएर उत्तरदायी बनाउनेतिर नै आफूहरू जाने उनको भनाइ छ। ‘निजी क्षेत्रको साथीहरुलाई विश्वासमा लिएर उत्तरदायी बनाएर जानेकुरामा छौँ, उहाँहरुको घाँटी समात्ने प्रक्रियामा छैनौँ,’ लिम्बुले भने, ‘महंगी बढेको अवस्था छ। आवश्यकता दिनका दिन बढ्दै गएको छ। शुल्क बढाएकै अवस्था छ। त्यत्रो ठूलो आत्तिहाल्नैपर्ने अवस्था होइन।’
Shares

प्रतिक्रिया