नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले नेपाली कांग्रेससँग सत्तामा सहकार्य मैदानमा प्रतिस्पर्धाको सम्बन्ध रहेको बताएका छन्।
एमाले संखुवासभाको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै गौतमले कांग्रेससँगको सहकार्य सबै ठाउँमा हो भनेर नबुझ्न कार्यकर्ताहरुलाई निर्देशन दिए।
‘सत्तामा सहकार्य, सहमति, एकता। मैदानमा चाहिँ प्रतिस्पर्धा छ,’ गौतमले भने।
एमाले र कांग्रेसमा सबै खालको प्रतिस्पर्धा रहेको बताउँदै उनले भने, ‘राजनीतिमा मात्र नभएर सामाजिक संघसंस्थादेखि विद्यालय व्यवस्थापन समितिसम्म प्रमुख प्रतिस्पर्धा कांग्रेससँग नै भइरहेको छ।’
पार्टीका प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले संखुवासभा आलोचनात्मक चेत बोकेको जिल्ला भए पनि पार्टी सदस्यताको अवस्थामा पुनर्विचार गर्नुपर्ने अवस्था देखिएको बताए।
जिल्लामा २७ सय ९५ जना पार्टी सदस्य भए पनि ५ सय जनाको नवीकरण नभएको र २८३ जनाले नयाँ सदस्यता लिएको उनले जानकारी दिए।
Shares

प्रतिक्रिया