राजनीति


उपसभामुखलाई हटाउने हस्ताक्षर गर्न गएनन् महामन्त्री थापा र शर्मा, शेखर समूहबाट बडू मात्रै सहभागी

उपसभामुखलाई हटाउने हस्ताक्षर गर्न गएनन् महामन्त्री थापा र शर्मा, शेखर समूहबाट बडू मात्रै सहभागी

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १४:५०, काठमाडौँ

उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन भन्दै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई खाली पानामा हस्ताक्षर गरिरहेका छन्। 

यो हस्ताक्षर गर्ने विषयमा नेपाली कांग्रेसभित्र भने मतभेद देखिएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेस सांसदलाई आकस्मिक रुपमा उपस्थित हुन भन्दै हस्ताक्षरका लागि डाकिएको थियो। 

हस्ताक्षर गर्नका लागि कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित केही सांसद गएनन्। खासगरी कांग्रेस इतर समूहका सांसदहरू हस्ताक्षर गर्न नगएका हुन्। 

कोइरालानिकट सांसद सञ्जय गौतमले उपसभामुखलाई हटाउनका लागि भनेर हस्ताक्षर गर्ने भनेर कुनै सल्लाह नभएको जानकारी दिए। 

'उपसभामुखलाई हटाउने भनेर हस्ताक्षर संकलन भइरहेको छ भन्ने कुरा समाचारहरू पढेर थाहा भयो,' उनले नेपालखबरसँग भने, 'हामीलाई यसबारे कुनै सल्लाह पनि गरिएको छैन थाहा पनि छैन। त्यसैले हस्ताक्षर गर्न पनि गइएको छैन गइँदैन। कम्तिमा के कुरा हो, विषय के हो भन्नेबारे त सरसल्लाह त हुनुपर्ला नि।'

हस्ताक्षर गर्नका लागि शेखर समूहबाट सांसद दीलेन्द्र बडूमात्रै दलको कार्यालय पुगेका छन्। प्रतिनिधिसभामा कांग्रेसका ८८ जना सांसद छन्।  

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि उपसभामुखलाई हटाउने निर्णयमा कांग्रेस-एमाले पुगेका थिए। उक्त राजनीतिक संयन्त्रको छलफलमा प्रधानमन्त्री र कांग्रेस उपसभामुख पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक सहभागी थिए। संयन्त्रको सदस्य भए पनि कांग्रेस महामन्त्री थापा सहभागी थिएनन्।

यसअघि पनि कांग्रेस-एमालेले उपसभामुखलाई हटाउने तयारी गरेका थिए। ०८१ भदौ २५ गते कांग्रेस कोइराला समूहले असन्तुष्टि जनाएसँगै रोकिएको थियो। 

अहिले कांग्रेस, एमालेसँगै सत्तापक्ष दलको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको छ। उता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि ३ बजे बस्ने गरी विपक्षी दलको बैठक डाकेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad