राजनीति


राम कार्कीसँग ‘तत्कालै’: माओवादी सरकारबाट हट्दा ९० प्रतिशत कार्यकर्ताले भोज खाए (भिडिओ)

‘रास्वपाको परीक्षण भइसक्यो, उनीहरू हारिसके’

अनिल यादव
भदौ २ , काठमाडौँ

माओवादी केन्द्रमा यतिखेर नेतृत्व परिवर्तनको बहस पेचिलो बन्दै गइरहेको छ। हालै सम्पन्न माओवादीको स्थायी समिति बैठकमा नेता राम कार्कीले पार्टीको नेतृत्व अब चक्रीय प्रणालीमा लानुपर्ने प्रस्ताव राखेका थिए। 

नेपालखबर ‘तत्कालै’सँग कुराकानी गर्दै कार्कीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी पद छाड्न र चक्रीय प्रणालीमा जान सकारात्मक रहेको बताएका छन्। कार्कीले पार्टी, विचार र नेतृत्वमा आमूल ‘कायाकल्प’ नगरे माओवादी ‘डाइनोसर’ बन्ने खतरा औँल्याउँदै अध्यक्ष प्रचण्डसँग आफ्नो नेतृत्व हस्तान्तरणको विषयमा ‘एकदमै सकारात्मक’ कुराकानी भएको बताए।

लामो समयदेखि एउटै व्यक्ति नेतृत्वमा रहँदा पार्टी जड बन्ने र नयाँ विचारले प्रवेश नपाउने भन्दै कार्कीले आफूले स्थायी समिति बैठकमा चक्रीय नेतृत्व प्रणालीको प्रस्ताव राखेको बताए। यो प्रस्तावमा अध्यक्ष प्रचण्डको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ। 

‘नेतृत्व परिवर्तनको कुरामा उहाँ (प्रचण्ड) सँग कुराकानी भएको छ,’ प्रचण्डसँगको संवादबारे कार्कीले भने, ‘एकदमै पोजिटिभ कुरा भएको छ। पछिल्लो पटक स्थायी समितिको बैठकको आसपास पनि भएको छ। उहाँले मेरो कुरालाई त्यसरी खण्डन गर्नुभएको छैन। ‘लेट्स सी, अझ यसको थप कुरा के हो, तपाईं ल्याउनुस्’ भन्नुभएको छ मलाई। मैले जुन नेतृत्वको हस्तान्तरणको कुरा गरिराखेको छु, त्यो नेतृत्वको हस्तान्तरण गर्ने प्रणालीको बारेमा अरु थप कुराहरू, अरु थप उदाहरणहरू, थप नजिरहरू लिएर आउनुस् भन्नुभएको छ मलाई।’

कार्कीका अनुसार प्रचण्ड अब सधैँ अध्यक्ष वा कार्यकारी पदमै रहिरहनुपर्छ भन्ने मानसिकतामा छैनन्, बरु एउटा प्रणाली बनाएर पार्टीलाई अघि बढाउने र प्रचण्डले अन्य वैचारिक भूमिका खेल्न सक्ने कार्कीको मत छ। 

‘त्यो भूमिका भनेको सधैँ अध्यक्ष बन्ने, कार्यकारी जिम्मा लिने भन्ने हुँदैन क्या,’ उनले भने। 

माओवादीले सरकारको नेतृत्व छाड्दा पार्टीका ९० प्रतिशत कार्यकर्ताले खुसी मनाउँदै भोज खाएकोे कार्कीले दाबी गरे। 

‘माओवादी सरकारबाट हटेपछि ९० प्रतिशत माओवादी कार्यकर्ताले भोज खाए। किनभने हामीले तल ग्राउन्डमा गएर जहाँ–जहाँ भेट्यौँ, त्यहाँ के देखियो त भन्दा अब हामी ठीक भूमिकामा छौँ। हामीलाई जनताले जुन मत दिएको छ, त्यसअनुसार हामी प्रतिपक्षमै रहनुपर्छ र जनतासँगको हाम्रो बिग्रिएको सम्बन्धलाई सच्याउनुपर्छ, सुदृढ पार्नुपर्छ। हामी अहिले जनताको बीचमा जानुपर्छ,’ उनले भने।

यसबाट पार्टीमा सिंहदरबारको कुर्सीवरिपरि घुम्नुभन्दा जनताको माझमा गएर संगठन निर्माणमा लाग्नुपर्छ भन्ने मत बलियो देखिएको उनको भनाइ छ।

०७९ को चुनावमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका नयाँ शक्तिहरूबारे पनि कार्कीले आफ्नो विश्लेषण प्रस्तुत गरे। उनले यी दलहरू वैचारिक हतियार बिना आएकाले ‘टेस्ट’ भइसकेको र अब टिक्न नसक्ने दाबी गरे।

‘उनीहरू अब हारिसके, उनीहरूको टेस्ट भइसक्यो,’ उनले भने, ‘किनभने वैचारिक हतियार बिनाको राजनीतिक पार्टीको काम छैन। त्यसले कहाँ लगेर फसाइदिन्छ थाहा हुँदैन।’

कार्कीका नजरमा जनताले सुरुमा विकल्पको रूपमा हेरे पनि यी दलहरू कुन वर्गको पक्षमा छन् र उनीहरूको इमानदारी कति हो भन्ने कुराको परीक्षण भइसकेको छ। वैचारिक स्पष्टताबिनाको राजनीतिले अन्ततः समाजलाई सही दिशा दिन नसक्ने उनको तर्क थियो।

कार्कीको विश्लेषणमा माओवादीले अब आफूलाई पुरानै तरिकाले चलाउन सक्दैन। पार्टी, विचार र नेतृत्व सबै तहमा ‘कायाकल्प’ अर्थात् आमूल रूपान्तरण आवश्यक छ। यदि यसो गर्न नसके पार्टीको अस्तित्व नै संकटमा पर्ने उनको चेतावनी छ।

आफूले उठाएका मुद्दाहरू अहिले पार्टीभित्र अल्पमतमा भए पनि सत्यको पक्षमा भएकाले भविष्यमा बहुमतमा परिणत हुने विश्वास व्यक्त गरे। 

‘जहिले पनि सत्य सुरुमा घोर अल्पमतमा हुन्छ,’ उनले भने। 

हेर्नुहोस्, कार्कीसँग माओवादी केन्द्रभित्रको पार्टी नेतृत्व परिवर्तन, नयाँ दलहरूको भविष्य  लगायत विषयमा केन्द्रित कुराकानी ‘तत्कालै’: 

फोटो/भिडिओः विशाल कार्की 
 

भदौ २, २०८२ सोमबार २०:४१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad