राजनीति


एक करोड भ्रष्टाचारका अभियुक्त पूर्वमुख्यमन्त्री सोडारी धरौटीमा छुटे

एक करोड भ्रष्टाचारका अभियुक्त पूर्वमुख्यमन्त्री सोडारी धरौटीमा छुटे

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०८२ सोमबार २०:५, काठमाडौँ

भ्रष्टाचार मुद्दाका अभियुक्त एवं सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी धरौटीमा छुटेका छन्।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोग लागेका सोडारी सोमबार विशेष अदालतमा उपस्थित भएका थिए। 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रितेन्द्र थापा र विदुर कोइरालाको इजलासमा सोमबार नै सोडारीसँग बयान लिइएको थियो। बयानपछि थुनछेक बहस हुँदा उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोले गत जेठ १९ गते सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा चलाएको थियो।

नेकपा एकीकृत समाजवादीका सांसद रहेका सोडारीले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति थुपारेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

उनले ०८१ वैशाख ६ गतेदेखि ०८१ साउन २० गतेसम्म मुख्यमन्त्रीको कार्यभार सम्हालेका थिए। कैलाली क्षेत्र नम्बर ४(१) बाट प्रदेश सांसदमा दोस्रोपटक निर्वाचित सोडारीले प्रदेश सरकारमा सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको समेत नेतृत्व गरेका थिए।

उनले सार्वजनिक पदधारण गरेको ०७४ माघ ७ गतेदेखि ०७९ फागुन १० सम्मको जाँच अवधिमा खुद बैंक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता बचत, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता आय, श्रीमतीको पारिश्रमिक बचत, छोराको पारिश्रमिक र दैनिक भ्रमण भत्ता बचत, बुहारीको पारिश्रमिक बचत, कृषि आय, बुबा र आमाले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बचत र बैंक ब्याज आयसमेत गरी ८५ लाख ५१ हजार वैधानिक आय आर्जन गरेको देखिएको तर गैरकानुनी सम्पत्ति भने त्योभन्दा बढी रहेको अख्तियारको अनुसन्धानले देखाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad