राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिको फोहोर सफा गर्न आफ्नो पार्टी उत्तम विकल्प भएको दाबी गरेका छन्।
बुटवलको देविनगर चौपारीमा राष्ट्रिय जनमोर्चा रुपन्देहीद्वारा आयोजित भ्रष्टाचारविरोधी विरोध सभामा बोल्दै अध्यक्ष केसीले ठूला दलप्रति असन्तुष्ट जनता गलत बाटोतर्फ मोडिँदै गएको बताए।
उनले सही बाटो राष्ट्रिय जनमोर्चा भएको पनि जिकीर गरे।
‘ठूला दलका कारण जनतामा राजनीतिप्रति वितृष्णा बढेको छ। त्यसको फाइदा नयाँ भनिने छट्टुहरूले लिन खोजेका छन्’ अध्यक्ष केसीले भने, ‘जनता अन्यत्रै मोडिएपनि असली विकल्प राष्ट्रिय जनमोर्चा हो।’
अध्यक्ष केसीले भ्रष्टाचारविरुद्ध आवाज उठाउन पनि जनमोर्चालाई साथ दिन आग्रह गरे।
भ्रष्टाचार र कुशासन विरुद्ध संसदमा आवाज उठाउन र राष्ट्रियता र जनतन्त्रको रक्षाका लागि पनि रुपन्देही क्षेत्र नं ३ मा हुन लागेको उपनिर्वाचनमा जनमोर्चाका उम्मेदवारलाई जिताउन केसीले अपिल गरे।

उनले देशमा बढ्दो भ्रष्टाचारको मूल कारण ठूला दल रहेको उल्लेख गर्दै, जनताले बारम्बार तिनै दल र नेताहरूलाई जिताएर भ्रष्टाचार गर्ने अवसर दिएको बताए।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा रुपन्देही–३ का उम्मेदवार बद्रे आलमले राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानमा साथ दिन आफूलाई भोट दिन आग्रह गरे।
रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। जनमोर्चाले सो क्षेत्रमा आलमलाई उम्मेदवार तोकेको छ।
जनमोर्चाले आज (शुक्रबार) देशका विभिन्न जिल्लामा भ्रष्टचारविरुद्ध कार्यक्रम गरेको छ।
Shares

प्रतिक्रिया