बिहीबारमात्रै नेपाली कांग्रेस प्रवेश गरेर सदस्यता लिएका देवेन्द्र यादवको सदस्यता आजै खारेज भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्रीसमेत रहेका यादवको सदस्यता कांग्रेसले दोस्रो दिनमै खोसेको हो।
'...केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो,' पार्टी मुख्यसचिव कृष्ण पौडेलले जारी विज्ञप्तिमा भनिएको छ, 'तर बुझ्दै गर्दा निज व्यक्ति उपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ।'
'निजलाई पार्टी प्रवेश गराउन ल्याउनु हुने साथीहरूसँग यसबारे गम्भीरतापूर्वक जानकारी लिइंदै गरेको समेत जानकारी गराइन्छ,' उनले भनेका छन्।
तत्कालीन सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै लोसपामा पुगेका यादव पछिल्लो समूह निष्क्रिय थिए। उनलाई कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र मधेस प्रदेश सभापति कृष्ण यादवसँगको संवादपछि पार्टीमा ल्याइएको थियो।
यादवको पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री यादव, महोत्तरी ४ बाट निर्वाचित सांसद महेन्द्रकुमार राय, कांग्रेस मधेस प्रदेशका सभापति यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवलगायत उपस्थित थिए।
मधेस आन्दोलनका क्रममा ०७२ भदौ २५ गते आन्दोलनकारीले असई विकको हत्या गरेका थिए। हत्या भएको ३ वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो। विकको हत्यामा महोत्तरी जिल्ला अदालतले ०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।
यादव प्रहरीको फरार सूचीमा छन्। उनीविरुद्धको मुद्दा भने महोत्तरी जिल्ला अदालतमा मुलतवीमा राखिएको छ।
Shares

प्रतिक्रिया