पतञ्जलि घोटाला प्रकरणमा पूर्वमन्त्री प्रेमबहादुर सिंह ५० हजार रूपैयाँ धरौटीमा छुटेका छन्।
यसै प्रकरणमा पतञ्जलिका नेपाल प्रमुख शालिग्राम सिंहसँग ३५ लाख रूपैयाँ धरौटी माग हुँदा पूर्वमन्त्री सिंहसँग विशेष अदालतले ५० हजार रूपैयाँ माग गरेको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार यो आदेश गरेको हो।
अदालतमा उपस्थित भएपछि आइतबार नै उनीहरूको बयान भएको थियो।
बयानपछि थुनछेक बहस भएको थियो। यस क्रममा अख्तियारका तर्फबाट बहस गरेका सरकारी वकिलले थुनामै राखेर कारबाही अघि बढाउनुपर्ने माग गरेका थिए।
पूर्वमन्त्री सिंहका तर्फबाट शम्भु थापा, ललित बस्नेत, कपिलदेव ढकाललगायत कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरूले थुनामा राख्न नहुने जिकिर गरेका थिए।
यसै प्रकरणमा यसअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ धरौटीमा छुटेका थिए।
माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्अन्तर्गत विधेयक समितिले २०६६ माघ १८ गते पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढीको जग्गा राख्न छुट दिने निर्णय गरेको थियो। त्यही निर्णयका कारण तत्कालीन कानुनमन्त्री सिंहले भ्रष्टाचार मुद्दा खेप्नुपरेको हो।
सिंह त्यतिखेर विधेयक समितिका संयोजक थिए।
Shares

प्रतिक्रिया