राजनीति


निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

नेपालखबर
साउन १८, २०८२ आइतबार १६:३९, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका छन्।

आइतबार सीआईबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। उनले निर्मला प्रकरणको अनुसन्धानमा कुनै कसर बाँकी नराख्न सीआईबीलाई निर्देशन दिए।

‘निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तिव्रता दिन आग्रह गर्छु’ गृहमन्त्री लेखकले भने, ‘नेपाल प्रहरीभित्र पनि सीआईबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ।’

सिमित स्रोत साधनका बिच प्रहरीमा सीआईबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सीआईबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताए।

मुलुकमा पछिल्लो समय बित्तिय अपराध बढेकाले आफूले बित्तिय अपराध नियन्त्रणका लागि बित्तिय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए।

‘प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ’ उनले भने, ‘प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतको भन्दा चालु आर्थिक बर्षमा तुलनात्मक रुपमा बजेट बढी बिनियोजन गरिएको छ।’

प्रहरीभित्र सीआईबीको महत्त्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले जिम्मेवारी पुरा गर्न प्रविधि, जनशक्ति लगायतका विकास गरिनेमा जोड दिए।

सो क्रममा सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सीआईबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौती लगायतका विषयमा प्रस्तुती राखेका थिए।

वरिष्ठ उपरीक्षक बोगटीले सीआईबीले निर्मला पन्त प्रकरणका साथै अरु घटना सम्वन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका थिए।

कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सीआईबीका प्रमुख प्रहरी अतिरित्त महारिक्षक चन्द्रकुवेर खापुङ् लगायत सीआइृबीका कार्यरत प्रहरी अधिकारी सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad