नागरिक उन्मुक्ति पार्टीका संस्थापकहरूको बैठकले रञ्जितालाई श्रेष्ठलाई अध्यक्ष र साधारण सदस्यसमेत नरहने गरी बर्खास्तको निर्णय गरिसकेको छ।
बुधबार बसेको संस्थापक तथा संरक्षक रेशम चौधरीसहितको बैठकले श्रेष्ठलाई पार्टीबाट निष्काशनको निर्णय गरेको हो।
पोखराको बाटुलेचौरको जग्गा प्रकरणमा जोडिएर श्रेष्ठले घुस डिल गरेको अडिओ सार्वजनिक भएसँगै उनी विवादमा तानिएकी थिइन्। त्यसपछि उनले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव वास्ताोलालाई दिइन्।
उनले आफ्नो स्वास्थ्यको कारण काम गर्न समस्या भएको भन्दै कार्यवाहक दिएकी हुन्।
तर, एकाएक संस्थापकहरूको बैठकले पार्टीबाटै निष्काशन गर्ने निर्णय गरेको भन्दै उनले त्यसलाई हास्यास्पद भएको बताइन्।
नेपालखबरसँगको छोटो कुराकानीमा उनले भनिन्, 'यो निर्णय नै हास्यास्पद छ यो हास्यास्पद हो।'
अब समानान्तर समिति बनाउने कि कानुनी प्रतिवाद गर्ने? भन्ने अर्को प्रश्नमा उनले थपिन्, 'नागरिक उन्मुक्तिको अध्यक्ष मै हुँ निर्वाचन आयोगमा बुझ्न सक्नुहुन्छ। राजनीतिक दलको नियामक निकाय निर्वाचन आयोग हो।'
यता संस्थापकहरूको बैठक अहिले जारी छ। उक्त बैठकले पार्टीको नयाँ अध्यक्ष तोक्ने र निर्वाचन आयोगलाई जानकारी गराउने तयारी गरेको छ।
Shares

प्रतिक्रिया