राजनीति


कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाउनुपर्छ: सांसद सापकोटा

कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाउनुपर्छ: सांसद सापकोटा

नेपालखबर
साउन १३, २०८२ मंगलबार १५:४४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाइनुपर्ने बताएका छन्। 

मङ्गलबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 

समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल भएको थियो। उनले विमानस्थल सुधारका लागि कानुनहरू बनाइँदा संस्थागत सुधार र सेवा स्तरको सुधारमा विशेष जोड दिनुपर्ने बताए।

अलग अलग संरचनाको परिकल्पना गर्ने तर सेवाको स्तर पुरानै भएको खण्डमा छुट्टै संरचनाको महत्त्व नरहने बताए। कानुनले निजी क्षेत्र र वैदेशिक लगानीलाई आकर्षित गर्दै अघि बढ्न सक्नुपर्ने बताए। 

‘यसको संस्थागत सुधारका बारेमा हामी कति स्पष्ट छौँ, हामीले कति जोड दिएर काम गर्ने हो यसमा स्पष्ट हुनुपर्छ। सेवाको स्तर कसरी सुधार गर्ने? अलग अलग संरचनाको परिकल्पना गर्ने तर सेवाको स्तर उही भयो भने अहिले हामी जुन ढंगले जान खोजेका छौँ, यसको उपादेयिता रहँदैन,' उनले भने, 'सेवाको स्तरलाई सुधार गर्नेगरी कानूनहरु बढी फलदायी हुनुपर्छ। आइकाओ लगायतको अन्तर्राष्ट्रिय स्तरबाट हामीलाई जुन प्रकारको व्यवधान छ, त्यसलाई हल गर्न यो कानूनले के मद्दत गर्दछ। कालोसूचिमा राखिएको कुरा हट्न योगदान गर्छ की गर्दैन ? यसमा सोच्नुपर्छ । यस कानूनले निजी क्षेत्र र वैदेशिक लगानीलाई आकर्षित गर्दै अघि बढ्न सक्नुपर्छ।’

सांसद सापकोटाले अन्तर्राष्ट्रिय स्तरलाई विश्वासमा लिने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad