राजनीति


कर्णालीका नेताहरूलाई ओलीको निर्देशन- हावाको झोक्काको पछि होइन, पार्टी निर्माणमा लाग्नू

पार्टीभित्र अस्थिरताको हावा चलाउने शक्त्तिको लहडमा विद्या लागेको आरोप
कर्णालीका नेताहरूलाई ओलीको निर्देशन- हावाको झोक्काको पछि होइन, पार्टी निर्माणमा लाग्नू

नेपालखबर
साउन ११, २०८२ आइतबार ०:५४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन्।

शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा लामो छलफलमा अध्यक्ष ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरूलाई यस्तो निर्देशन दिएका हुन्।

भर्खरै सम्पन्न एमालेको नवौँ केन्द्रीय किमिटी बैठकमा कर्णालीले एकताबद्ध भएको सन्देश प्रवाह गरेको भन्दै उनले आभार पनि व्यक्त गरे।

अध्यक्ष ओलीले संघर्षपूर्ण इतिहासमा ठूल्ठूला तुफानहरूको सामना गरेर आएको एमालेका लागि पछिल्लोपटक देखाउन खोजिएको सानो हावाको झोक्काले केही असर नपार्ने दाबी पनि गरे।

‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेताहरू संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं,’ ओलीले भने, ‘अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो। सामान्य रूपमा समाधान हुन्छ। तपाईँहरू यसमा अल्मलिनुभन्दा आ–आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस्।’

उनले राष्ट्रिय राजनीतिमा पार्टीले पछिल्लो समय लिएको नीति र देश विकासमा पार्टी नेतृत्वमा गठन भएको सरकारले गरेका लोकप्रिय कामहरू देखेर अत्तालिएका शक्त्तिहरूकै कारण पार्टीभित्र अस्थिरताको हावा चलाएको उल्लेख गर्दै त्यसकै लहडमा सम्मानित व्यक्तित्व (विद्या भण्डारी) लाग्नु सिंगो एमालेका लागि दुःखद् कुरा भएको बताएको बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए। 

‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अविभावकका रुपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनुभएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौं’, उनले भने, ‘लामो समय जारी राजनीतिक संघर्षको उपलब्धिको प्रतिमाका रूपमा रहनुपर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ।’

देशकै अविभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण नवौँ केन्द्रीय कमिटीमार्फत एमाले पछिल्लो निर्णयमा पुग्नुपरेको ओलीको प्रस्टीकरण थियो। कर्णालीका दसवटै जिल्ला र सबै स्थानीय तहमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न एक सूत्रीय अर्जुनदृष्टिका साथ लाग्न निर्देशन पनि उनले दिए।

आफूले पार्टीको नेतृत्व सम्हालेको सेकेन्डदेखि पार्टीलाई कसरी देश र जनताको पक्षमा उभ्याउने, कसरी राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने भनेर लागेकै कारण पछिल्लो समय पार्टी र पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेको उनको गुनासो थियो।

ओलीले एमालेको अबको ध्यान ८४ मा जनादेश प्राप्त पहिलो शक्ति कसरी बन्ने भन्नेमै हुनुपर्नेमा जोड दिए। 

बैठकमा एमाले कर्णालीका नेताहरूले पार्टी अध्यक्ष ओलीसमक्ष कर्णालीको संगठन र समृद्ध कर्णाली निर्माणमा सरकारले तय गर्नुपर्ने प्राथमिकताका विविध विषयवस्तुहरू राखेको बोगटीले जानकारी दिए। 

उनका अनुसार नवौँ केन्द्रीय कमिटी बैठकपछि पार्टी अध्यक्षसमक्ष गहन छलफल गर्ने पहिलो प्रदेशका रूपमा कर्णाली बन्न पुगेको छ। यस क्रममा पार्टीलाई एकताबद्ध बनाउँदै मिसन ८४ मार्फत देशकै पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित गर्न अध्यक्ष ओलीको नेतृत्व अपरिहार्य भएकोमा जोड दिइएको बोगटीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad