प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध जारी रहेका छन्। गत जेठ १३ गतेदेखि दुई दलले लगातार सदन अवरुद्ध गर्दै आइरहेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग राख्दै अवरोध राख्दै आइरहेका छन्।
आज बुधबार पनि बैठक सुरु भएलगत्तै दुवै दलका सांसदहरू उठेर अवरोध गरे। अवरोधपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद विन्दवासिनी कंसाकारलाई बोल्न समय दिए। उनले भिसिट भिसाका नाममा नेपाली बेचिने काम भइरहेको उनको भनाइ थियो।
७८ लाख घुस डिल गरेको आरोप लागेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएको तर, ३२ लाख घुस डिल गरेको आरोप लागेका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी अझै पदमै रहेको भन्दै उनले आपत्ति जनाइन्।
त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि जताततै भ्रष्टाचार मौलाएको भन्दै छानबिनको दायरामा राजनीतिक नेतृत्वलाई ल्याउनुपर्ने बताए। अहिले दुवै दलका सांसद बैठककक्ष छाडेर बाहिरिएका छन्।
Shares

प्रतिक्रिया