नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके पार्टीमा आफू लामो समयसम्म बस्न नसक्ने बताएका छन्।
हालै मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका नेता गौतमले आज (बुधबार) कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर काम चाहिएको बताएका हुन्।
‘मलाई के पद दिने भन्ने विषय उठेको छ। मलाई चाहिन्न पद। मैले त्यो पहिला पनि भेनको छु। मलाई काम दिनुस्। काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ? कामसहितको सिर्जना गरिदिनुस्, उनले भने, कामबिनाको पद चाहिँदैन। कुनै पनि हालतमा चाहिँदैन। म बस्दा पनि बस्दिनँ।’
उनले थपे, ‘यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिनँ। मलाई काम गर्ने क्षेत्र चाहियो। एउटा जिल्ला कि दुईवटा जिल्ला कि आधा जिल्ला। कि एउटा पालिका कि क्षेत्र, जहाँ जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग यी संरचना छन्। जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ।’
साउन २ गते गौतम नेतृत्वको नेकपा एकता अभियान एकीकृत समाजवादीमा समाहित भएको हो।
Shares

प्रतिक्रिया