आज नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवस। बीपी उम्दा साहित्यकार थिए। साहित्यिक वृत्तमा उनका कृतिहरूको अरु बेला पनि चर्चा हुन्छ।
बीपीको नाम लिएर नथाक्ने नेपाली कांग्रेसले औपचारिकता नै सही! स्मृति दिवसको सन्दर्भमा विभिन्न कार्यक्रमहरूको आयोजना भइरहेका छन्। बीपीको प्रजातान्त्रिक समाजवाद र मेलमिलाप नीति, उनको कूटनीतिक चातुर्य र उनले अंगीकार गरेका परराष्ट्र नीतिबारे पनि धेरथोर चर्चा भइरहेको छ।
तर, क्रान्तिका बेला बीपीलाई साथ दिएका र कालान्तरमा उनीबाट टाढिएका दाजु मातृकाप्रसाद कोइराला, तुलसी गिरि, सूर्यप्रसाद आचार्य, विश्वबन्धु थापाहरूबारे चाहिँ कांग्रेसभित्र कमै चर्चा हुने गरेको छ।
कांग्रेसले सुवर्ण शमशेर र गणेशमान सिंहलाई आफ्नो नेता मान्दै बीपीपछि तस्बिरमा सजाउँछ। पिता कृष्णप्रसाद कोइरालाका जेठा छोरा तथा कांग्रेसका सभापति र पूर्वप्रधानमन्त्री मातृकाबारे चुइँक्क बोल्दैन। जबकि, मातृका २००३ सालमा नै नेपाली राष्ट्रिय कांग्रेसको सभापति भइसकेका थिए। टंकप्रसाद आचार्य पक्राउ परेपछि भारतको जोगबनीमा भएको सम्मेलनले मातृकालाई सभापति बनाउँदा महामन्त्री कृष्णप्रसाद भट्टराई थिए। २००५ साल फागुनमा सम्पन्न तेस्रो महाधिवेशनले पनि मातृकालाई कार्यवाहक अध्यक्ष चुन्यो। उता, सुवर्ण र महावीर शमशेरको अगुवाइमा २००५ साल पुसमा महेन्द्रविक्रम शाह सभापति र सूर्यप्रसाद उपाध्यक्ष महामन्त्री रहेको नेपाली कांग्रेस प्रजातान्त्रिक गठन भयो।
२००६ सालमा दुवै कांग्रेसबीच एकीकरण भयो। कलकत्तामा सम्पन्न चौथो महाधिवेशनले मातृकालाई नै सभापति बनायो। उनकै नेतृत्वमा २००७ सालको क्रान्ति सफल भएको थियो। सो कार्यसमितिमा बीपी सदस्य थिए। महामन्त्री प्रजातान्त्रिक कांग्रेसका महेन्द्र र कोषाध्यक्ष सुवर्ण शमशेर समेटिएका थिए।
प्रजातन्त्रपछिको २००९ सालमा जनकपुरमा सम्पन्न पाँचौँ महाधिवेशनबाट मात्र बीपी सभापति चुनिएका हुन्। सो समितिमा धनमानसिंह परियार महामन्त्री र मातृका कार्यसमिति सदस्य थिए।
२००७ सालको क्रान्तिपछि गठित सरकारको नेतृत्व केही समय मोहन शमशेरकै हातमा रह्यो। बीपी गृहमन्त्री बने। पछि मोहन शमशेरलाई प्रधानमन्त्रीबाट हटाउने उपक्रममा बीपीले पहिला ‘बिजुली गारद’ खोसे। त्यो हातहतियारसहितको पल्टन थियो। जसले राणाको सुरक्षा गर्थ्यो। मोहन शमशेरको सुरक्षामा रहने सो गारदलाई निकालेपछि कहाँ राख्ने भन्ने समस्या पर्यो। आत्मवृत्तान्तमा बीपीले भनेका छन्, ‘कसैले नारायणहिटीमा राख्ने सल्लाह दियो, मलाई ठीकै लाग्यो।’
नाराणहिटी पसेको बिजुली गारदबाट एक दिन राजा त्रिभुवनले सलामी खाँदै गरेको देखेपछि बीपी झस्किएछन्। उनले भनेका छन्, ‘आफू बसेको झ्यालबाट हेर्छु त राजाले सलामी लिइरहेका छन्। म तिनको पाहुना भएर बसेको छु। मलाई जानकारी दिनुपर्ने। अहँ, त्यो गरेनन्। त्यसदिनदेखि राजाको हात माथि पर्यो। प्रजातन्त्रको हात तल पर्यो। मोहन शमशेरकहाँ त्यो पल्टन रहिररहेको भए हाम्रो एउटा महत्त्वपूर्ण भूमिका रहिरहने थियो। त्यो पल्टन यिनको हातमा आयो, आउनेबित्तिकै राजाको प्रवृत्ति अर्को भएर आयो। त्यस दिनदेखि राजा बलिया भए।’
हो, यिनै बलिया राजाले त्यसपछि कांग्रेसभित्र खेल्न थाले। उनले मोहन शमशेरको राजीनामापछि नयाँ प्रधानमन्त्री नियुक्त गरेनन्। आफैँ मन्त्रिपरिषद् अध्यक्षको रुपमा रहे। प्रधानमन्त्रीले राजीनामा गरे पनि बीपी गृहमन्त्री नै थिए। त्यही बेला एउटा हिंसात्मक प्रदर्शन भयो र त्यसमा गोली चल्यो। विद्यार्थीको नाममा भएको प्रदर्शन र प्रदर्शनमा मिसिएका गुप्तचरहरू हनुमानढोका पसेपछि गोली चलाइएको बीपीले बताएका छन्।
मर्ने व्यक्ति सैद्दुदिन भन्ने पुलिसको गुप्तचर रहेको र त्यसको उपचार मोहन शमशेरले गराएको पनि बीपीको भनाइ छ। तर, त्यो घटनासँगै अनुभव नएका बीपीमाथि शान्ति सुव्यवस्था कायम गर्न नसकेको आरोप लाग्यो। तर, उनी टसमस भएनन्। गृहमन्त्रीबाट चाहिँ राजीनामा दिए।
अन्तरिम विधान अनुसार ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान थियो, नयाँ प्रधानमन्त्री को बनाउने भन्ने छलफल सुरु भयो।
क्रान्तिको नेतृत्वकर्ता मातृका नै थिए तर भाइ बीपी पनि आफैँ प्रधानमन्त्री बन्न चाहन्थे। आफ्नो आत्मकथामा बीपीले त्यो कुरा लुकाएका छैनन्। तर, भारत र दरबारले रुचाएका कारण मातृका प्रधामन्त्री बने।
‘ठूल्दाजुले सरकार बनाउनुभयो। नेपाली कांग्रेसको सरकार गठन भयो। एकमना सरकार भयो त्यो। उहाँले जसजसको नाम सिफारिस गर्नुभएको थियो, त्यो मन्त्री भयो। सुवर्णजी, सूर्यप्रसाद, गणेशमान सिंह, भद्रकाली मिश्रहरू मन्त्री भए। ममात्रै बाहिर रहेँ। महेन्द्रविक्रम र अरु पनि को–को थिए,’ बीपीले भनेका छन्।
हो, त्यहाँबाट दाजुभाइबीच कचपच सुरु भयो।
त्यसमा घ्यु थप्ने काम चाहिँ विद्यार्थी काण्डको छानबिनको लागि होराप्रसाद जोशीको अध्यक्षमा बनेको समिति र प्रतिवेदनले गरिदियो। सो प्रतिवेदनमा ‘बीपी कोइराला अधिनायकवादी हुन खोजेको र गोली चलाएको’ भनिएको थियो। यद्यपि, प्रधानमन्त्रीका रुपमा ठूल्दाजुसम्मलाई त्यो प्रकाशित गर्न लाज भएको बीपीले उल्लेख गरेका छन्।
त्यो बीचमा तत्कालीन मुक्ति सेनादेखि भारतीय केही नेताले पनि सरकारविरुद्ध लाग्न उक्साएका थिए। तर, बीपीले त्यसलाई स्वीकारेनन्। उनी देश दौडाहामा निस्के। उनीमाथि विभिन्न ठाउँमा आक्रमणको प्रयास भयो। भारतीय नेता जयप्रकाशले दाजुभाइको मनमुटाव साम्य पार्ने प्रयत्न गरे। आत्मवृत्तान्तमा सो प्रकरणबारे बीपीले भनेका छन्, ‘मसँग उनी (जयप्रकाश) रिसाएका छन्। मैले ३–४ वटा कुराहरू भनेको थिएँ। एउटा कुरा के थियो भने पार्टीको अध्यक्ष र सरकारको प्रधानमन्त्री एउटै मान्छे हुनुहुँदैन। खास गरेर त्यस परिप्रेक्ष्यमा जब कि सरकारमाथि अरू कुनै अंकुश छैन। न संसद् छ, न केन्द्री छ, त्यस सरकारलाई अंकुशमा राख्ने। प्रधानमन्त्री आफ्नो संगठनका प्रति जिम्मेवार हुनुपर्छ, जनताको कुनै समूहको प्रति जिम्मेवार रहनैपर्छ। त्यसो हुनाले, त्यो दुइटा पृथक हुनैपर्छ। सरकारमाथि त्यसको नियन्त्रण रहनुपर्छ, सरकार पार्टीद्वारा नियन्त्रित हुनुपर्छ। मेरो विचार त्यो थियो। जयप्रकाशजी भन्थे, ‘कैसे सरकार पार्टी से नियन्त्रित होगा? यहाँ जवाहरलालजी उसको मानेंगे?’
त्यो बेला भारतमा जवाहरलाल नेहरू प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै थिए।
बीपीले भारतमा संसद् भएको र संसद् हुँदा जवाहरलालजस्तै प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति रहे पनि फरक नपर्ने धारणा सुनाएका थिए।
‘अनि सहमति के भयो भने म पार्टीको अध्यक्ष हुने, ठूल्दाजु प्रधानमन्त्री नै रहने,’ बीपीले भनेका छन्।
तर, विशालनगर दरबारमा बोलाइएको महासमितिको विशेष अधिवेशनमा बीपी पक्षधरले सरकारको आलोचना गरे। मातृकाले बचाउमा वक्तव्य दिए। तुलसी गिरि मध्यमार्गी भएर निस्के। मतदान हुँदा मातृका पराजित बने। अनि त्यसको भोलिपल्टै २००९ सालको भदौ २१ गते मातृकाले राष्ट्रिय प्रजा पार्टी गठन गरे। त्यसको महामन्त्री महेन्द्रविक्रम शाह थिए।
बीपी भन्छन्, ‘उहाँ (मातृका) विरुद्ध हामीले प्रस्ताव लगेपछि उहाँले भन्नुभयो अच्छा अब म राजीनामा गर्छु। उहाँको त राजासँग कुरा मिलिसकेको रहेछ। ‘राजीनामा गर्नू, तिमी अर्को पार्टी बनाऊ’, इत्यादि कुरा। उहाँले राजीनामा गर्नुभयो, प्रधानमन्त्रीबाट र अर्को पार्टी बनाउनुभयो। ‘म अब भ्रमणमा निस्केँ’ भन्नुभयो। त्यसको ६–७ दिनपछि फर्केर आउनुभयो। अनि राजाले देशको सबैभन्दा ठूलो पार्टी– राष्ट्रिय प्रजा पार्टीको रुपमा सरकार बनाउन आमन्त्रित गरे। अनि त हामी विरोधी दलमा भयौँ। त्यसपछि मैले नै भ्रमण गर्न थालेँ।’
राजा त्रिभुवन उपचारको लागि स्विट्जरल्यान्ड गए। प्रधानमन्त्रीको रुपमा मातृका उपचारबारे बुझ्न र राजालाई भेट्न त्यहाँ जान चाहन्थे तर त्रिभुवनले रोकिदिए। युवराज महेन्द्रलाई बोलाए। महेन्द्र कार्यकारी अधिकार लिएर देश फिरे। आएलगत्तै उनले मातृका मातहतका दुईवटा मन्त्रालय आफूमातहत राखे।
बीपीले गोप्य रुपले दाइलाई भेटे। राजाले कुनै दिन हटाउँदैछन् भन्ने कुरा गरे।
‘ठूल्दाजु, तपाईंलाई अब झिक्छन्। त्यसो हुनाले तपाईंले केही सशक्त र नाटकीय काम गर्नुपर्छ। भूमिसुधार वा त्यस्तै केही कुरामा तपाईंले एउटा सशक्त आधार लिनुपर्छ। तपाईंलाई केही हप्ताभित्रै झिक्छ। त्यसैले एउटा सशक्त आधार बनाउनुपर्छ।’
मातृकाले भनेछन्, ‘के तँलाईं लाग्छ यो कुरो? म भोलि राजासँग समय लिन्छु र कुरा गर्छु।’ राजाले भेटको अवसरमा त्यस्तो नहुने बताए पनि अन्ततः मातृकालाई हटाइयो। उनको निवासको टेलिफोन तार काटियो।
‘त्यसपछि ठूल्दाजु ढाक्रे बन्नुभयो,’ बीपीले लेखेका छन्।
बीपीले मातृकासँग विशेष ४ वटा विषयमा मतभेद रहेको उल्लेख गरेका छन् :
मतभेदको एउटा बुँदा थियो– राजाको बारेमा। ठूल्दाजु के भन्नुहुन्थ्यो भने सरकारले राजाबाट अधिकार प्राप्त गरेको छ। निर्वाचन नभएकोले सम्पूर्ण शक्ति राजम निहित छ। तिनले हामीलाई सरकार दिएका हुन्। उहाँको एकदम कानुनी, संवैधानिक र यथास्थितिवादी तर्क थियो।
मैले भनेँ, होइन, राजा पनि क्रान्तिद्वारा नै पुनप्रतिस्थापित भएका हुन्। तपाईं त्यहाँ हुनुहुन्छ। त्यस क्रान्तिको परिणामस्वरूप (जसले राजालाई मात्र सत्तामा ल्याएन, बल्कि पार्टीलाई पनि ल्यायो। त्यसो हुनाले अहिलेदेखि नै राजालाई संवैधानिक राज्य प्रमुखजस्तो कार्य गराउन थालिएन भने पछि गएर अर्को क्रान्ति गर्नुपर्ने हुन्छ। अहिले त कलिलो माटो (गिलो माटोजस्तो भएकोले जस्तो स्वरूप पनि) ऊ स्थिर पनि छैन। दिन सकिन्छ। हामीले यो भन्नै हुँदैन कि हामीले शक्ति हासिल गरेका छौँ राजाबाट। कानुनी व्याख्या जेसुकै हुने हुन सक्ने भए तापनि एउटा क्रान्तिकारी कानुन छ— क्रान्तिको कानुन भन्ने विचार थियो। अब त्यो गल्ती थियो वा थिएन, मलाई थाहा छैन, तर त्यो मेरो तर्क थियो। त्यसो हुनाले मेरो विचारमा, राजालाई अहिलेदेखि नै संविधानको अभ्यास गराउनुपर्छ। प्रशासनका दैनिक कुराहरूमा उनलाई हस्तक्षेप गर्न दिनै हुँदैन, किनभने उनी कार्यपालिकाका प्रधान होइनन्।
दोस्रो– मेरो कुरा के थियो भने भूमिसुधार जतिसक्यो छिटो हुनुपर्छ। उहाँ त्यही यथास्थितिको कुरा गर्नुहुन्थ्यो। उहाँका दुईवटा तर्कहरू थिए। एउटा तर्क उहाँको के थियो भने– आधारभूत संस्थात्मक परिवर्तन गर्नको निम्ति हामीलाई कानुनी अख्तियार छैन। त्यो त संवैधानिक तवरले निर्वाचित निकायले मात्र गर्न सक्तछ। अर्को के भन्नुहुन्थ्यो भने– अहिले नै शान्ति र व्यवस्थाको यत्रो समस्या छ, त्यसमा संकट झन् थपिन्छ त्यो भूमिसुधार गर्न थाल्यौँ भने। म उहाँका कुराहरू अत्यन्त स्पष्ट गरी राख्दैछु, यति राम्रा तर्कहरू त के दिन सक्नुहुन्थ्यो उहाँ।
तेस्रो, कुरा मैले के भनेँ भने हिन्दुस्तानलाई आफ्नो थान्कोमा राख्नुपर्छ। हामीहरू कृतज्ञ छौँ, तर हिन्दुस्तानलाई त्यसको नाजायज फाइदा उठाउन दिनु हुँदैन। उहाँको भनाइ के थियो भने– हामीहरू हिन्दुस्तानसँग झगडा गरेर सफल हुन सक्तैनौँ। अहिले पनि धेरैको भनाइ छ त्यही। उहाँ हिन्दुस्तान पक्ष हुनुभयो भनेर भनेको होइन। उहाँले शक्ति नै प्राप्त गर्नुभएको थियो हिन्दुस्तानको समर्थनबाट, त्यसको त कुरै छैन।
चौथो कुरा म के भन्थेँ भने– सरकार पार्टीको प्रति उत्तरदायी छ। पार्टी किनभने अहिले कुनै संसद् छैन र त्यस्तो कुनै निर्वाचित जनप्रतिनिधित्वको निकाय छैन। उहाँले के भन्नुभयो भने, ‘म त राजाप्रति उत्तरदायी छँदैछु।’
मैले भनेँ, ‘त्यसो होइन। तपाईंले राजा र पार्टी दुवैको विश्वास कायम राख्नुपर्छ। अहिलेको जस्तो परिस्थितिमा पार्टीको भूमिका प्रमुख छ, किनभने अहिले कुनै निर्वाचित संसद् छैन। भयानक ठूलो मतभेद भयो हामीबीचमा। अलिकति उहाँ पनि उचालिनुभयो। अलिकति म पनि अनुत्तरदायी भएँ हुँला।’
सत्ताले दाजुभाइको सम्बन्ध बिगार्यो। तर, राजाले गलहत्याएपछि र २०१५ सालको चुनावपछि चाहिँ दाजुभाइमा मिल्ती भयो। २०१७ साल वैशाख २५ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा सम्पन्न सातौँ महाधिवेशनले बीपीलाई सभापति चुन्दा मातृका सो कार्यसमितिको सदस्य बने।
त्यही सालको पुस १ गते बीपी कोइरालालाई अपदस्थ गरियो। महेन्द्रले पञ्चायत सुरु गरेपछि धेरै नेता जेल परे। मातृकालाई भने एक महिनामै मुक्त गरियो। २०१८ सालमा राजा महेन्द्रले उनलाई अमेरिकाको लागि नेपाली राजदूत नियुक्त गरे। पञ्चायत पसेका उनले सो उपक्रममा नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिको रुपमा पनि काम गरे। २०३० सालमा राष्ट्रिय विकास परिषद् सदस्य र २०३१ सालमा विश्व शान्ति सम्मेलन आयोजक समितिको नेतृत्व गरे भने २०३४ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत भए।
मोरङबाट चुनावमार्फत् सोही पदमा पुगे। हाल यो धर्तीमा नरहेका पत्रकार भैरव रिसालका अनुसार मातृका लोभी थिए रे। २०३८ सालमा राजाको जन्मदिन पारेर मातृकाको अन्तर्वार्ता गर्न पुगेका भैरवसँग मातृकाले राजाको स्तुति गाएछन्। भैरवले ‘यो त चाकडी भयो’ भनेछन्। प्रत्युत्तरमा मातृकाले भनेका थिए रे, ‘यही त कडा भो भन्छन्।’
२०७७ सालमा हिमालखबरमा छापिएको लेखमा भैरवले सो प्रसङ्गसहितको आलेख बिट मार्दै भनेका छन्, ‘उनलाई यदाकदा अत्यन्त लोभ लाग्दो रहेछ, त्यही लोभले माथि उठ्न दिएन।’ २०५४ साल भदौ २५ गते उनले संसार छाडे। २०४९ सालतिर उनले प्रजा पार्टीको महाधिवेशन आह्वान गरे। मृत्युपर्यन्त उनी सो पार्टीका अध्यक्ष रहे।
Shares

प्रतिक्रिया