राजनीति


मन्त्री पाण्डेलाई पशुपति दर्शन गर्न आउनेले भनेः यसपटकको व्यवस्थापन राम्रो छ

मन्त्री पाण्डेलाई पशुपति दर्शन गर्न आउनेले भनेः यसपटकको व्यवस्थापन राम्रो छ

नेपालखबर
साउन ५, २०८२ सोमबार १८:४९, काठमाडौँ


साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज पशुपतिनाथ मन्दिरसहित पशुपति क्षेत्रको अनुगमन गरेका छन्।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले अनुगमनका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गरेका हुन्। उनले दर्शनार्थीसँग समेत कुराकानी गरे। दर्शनार्थीले छोटो समयमा सहज र शान्तिपूर्ण रूपमा दर्शन गर्ने वातावरण मिलाइएको प्रतिक्रिया दिएका थिए।

यसपालिको साउनमा पहिलेभन्दा राम्रो व्यवस्था गरिएको भक्तजनको अनुभव छ। दर्शनका लागि निःशुल्क बस, लाइन व्यवस्थापन, सुरक्षालगायत सबै पक्ष व्यवस्थित देखिएको रामकोटबाट आएकी दर्शनार्थी रमा रिमालले जानकारी दिइन्। यसले अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज भएको छ।

धार्मिक आस्थाका दृष्टिले साउन महिनाको सोमबार शिवको भक्तिका लागि विशेष दिन मानिन्छ। यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ।

भक्तजनको सहज आवागमनका लागि चक्रपथ घुमेर आउने निःशुल्क रुपमा चार वटा बस सेवा सञ्चालनमा ल्याइएको छ। अनुगमनका क्रममा मन्त्री पाण्डेले शान्तिपूर्ण तथा अनुशासित रूपमा दर्शन गरिरहेका भक्तजनप्रति आभार प्रकट गर्दै आगामी दिनमा थप प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई सक्रिय रहन निर्देशनसमेत दिएका थिए।

साउन महिनाभर प्रत्येक सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले सुरक्षा र व्यवस्थापन पक्षलाई अझ चुस्त बनाइने मन्त्रालयले जनाएको छ। संस्कृतिमन्त्री पाण्डे सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाको स्मृतिमा लगाइएको पितृमुक्ति ज्ञान महायज्ञसमेत सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad