सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
पार्टी विधानका विषयमा छलफल गर्न एमालेले बोलाएको केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो। बैठकले आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदा पारित गर्ने कार्यसूची छ।
पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटव्यूरोले पास गरेको विधान केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नेछन्।
एमाले सचिवालय र पोलिटब्युरो कमिटीको बैठक सकिएपछि केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने एमालेले जनाएको छ।
सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरो सदस्यहरुले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरुले मात्र आजको बैठकमा बोल्ने अवसर पाउने गौतमले जानकारी दिए।
आजको बैठकको सुरुमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय, सरकारको एकवर्ष र पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकका निर्णयका सन्दर्भमा मन्तव्य राख्ने छन्। यसैगरी महासचिवले सागठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधानको विषयको छलफलमा प्रवेश गर्ने छ।
एमालेमा सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरो बाहेक करिब २३० जना केन्द्रीय सदस्य छन्। बैठक आज र भोलीमा सक्ने भनिए पनि सबै केन्द्रीय सदस्यले धारणा राख्ने समय लिएमा पर्सीसम्म लम्बिने आँकलन छ।
पार्टीको साउन १ गते बसेको सचिवालय, साउन २ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइको छ।
भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना हुनेछ।

















Shares

प्रतिक्रिया