नेकपा एमालेको शनिबार बसेको पोलिटब्यूरो बैठकमा एक नेताले कवितामार्फत् आफ्ना धारणा राखेकी छन्।
पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साहले कविताबाटै अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको उल्लेख गरेकी हुन्।
उनले कवितामै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा फर्किएको विषयमा कटाक्ष समेत गरेकी छन्।
आफूले पहिलोपटक कविता लेखेको उनले सुनाइन्।
‘यो मैले पहिलोपटक लेखेको कविता हो, अस्ती बेलुका तयार पारेको हुँ,’ साहले नेपालखबरसँग भनिन्,‘म सानैदेखि वक्तृत्वकला प्रतियोगितामा भाग लिने गरेको थिएँ। तर, कविता लेखेको थिइनँ। हिजोको पोलिटब्यूरो बैठकमा पढेर सुनाएँ।’
दुई दिनसम्म चलेको एमालेको पोलिटब्यूरो बैठकमा भण्डारीलाई स्वागत गर्नुपर्ने पक्ष र विपक्षमा धारणा राखेका थिए।
यस्तो छ, ज्वालाकुमारीको कविता
नेता उही केपी शर्मा ओली –२
नेतृत्वको उज्यालो जनताको विश्वास,
देश चलाउने हात, दृढ निडर साहस।–२
नेता उही केपी शर्मा ओली –२
केपी शर्मा ओली नाम होइन मात्र,
उहाँ त विचारको मूल राष्ट्रभक्त पात्र। –२
नेता त उही केपि शर्मा ओली –२
विकल्प खोज्नेहरू आज कता हराए,
पुरानो पदमा बसेर स्वार्थमा डुबाए। –२
नेता त उही केपि शर्मा ओली
राष्ट्रपति भइसकेको समानित सिँगार,
आज अध्यक्ष बने सपना कति लाज लाग्दो विचार। –२
नेता उही केपी शर्मा ओली –२
नैतिकता गुमाए आदर्श हराए,
सत्ता लुट्न फेरि मैदानमा उत्रिए, पाप झल्काए। –२
नेता उही केपी शर्मा ओली –२
के अध्यक्ष पद चिठा हो जले पाए लिँदै हिँडने?,
कि त्यो त जनताको मन हो जुन साँचो नेता खोज्दै हिँडने।–२
नेता उही केपी शर्मा ओली –२
केपी शर्मा ओलीजीसँग तुलना त्यो सम्भव छैन,
नेतृत्व विचार इमान त्यो कसैसँग साइनो छैन। –२
नेता त उही केपी शर्मा ओली –२
संघर्षले बनेका सिद्धान्तमा अडिएका,
देश र जनताको लागि निरन्तर डटेर उभिएका। –२
नेता त उही केपी शर्मा ओली –२
सुन तिमीहरू सत्ताको लालची सपना देख्नेहरू,
केपी शर्मा ओलीजीको विकल्प छैन बुझ र सम्मान गर। –२
नेता त उही केपी शर्मा ओली –२
इतिहासले लेखिरहेको छ उही हुन्छ अध्यक्ष,
देश र जनताको माया विचार मार्गमा सँधै अघि हुन्छ। –२
नेता त उही केपी शर्मा ओली –२
Shares

प्रतिक्रिया