राजनीति


शेरबहादुर तामाङसँग ‘तत्कालै’ : फेरि केपी नै एमालेको अध्यक्ष, विद्यालाई रोक्नुपर्छ (भिडिओ)

‘प्रधानमन्त्री भ्रष्टाचार गर्दिनँ भन्नुहुन्छ तर मन्त्रीहरू घुस डिल गर्छन्, चाँडै हेरफेर हुन्छ’

अनिल यादव
साउन ४ , काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनको विषयलाई लिएर नेकपा एमालेभित्र तीव्र ध्रुवीकरण बढेको छ। कतिपय भण्डारीको ‘कमब्याक’सँग उत्साहित छन् भने अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरू खुलेरै रोक्न खोजिरहेका छन्। यहीबीचमा आइतबार एमाले पार्टी कार्यालयमा भण्डारी–ओलीबीच भेटवार्ता नै भयो। 

ओली–भण्डारी भेटलगत्तै नेपालखबर ‘तत्कालै’मा आइपुगेका नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले तेस्रोपटक पनि एमालेको अध्यक्ष केपी ओली नै हुने दाबी गरे। 

‘विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय पार्टीले नै गरेको हो,’ उनले भने, ‘अब हुने ११औँ महाधिवेशनमा पनि केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउने पार्टीको धारणा छ। अहिलेको लागि नेकपा एमालेमा केपी ओलीको विकल्प छैन।’

तामाङले पूर्वराष्ट्रपतिजस्तो सम्मानित व्यक्तित्वलाई पार्टीको आन्तरिक बहस र विवादमा ल्याउनु दुर्भाग्यपूर्ण भएको बताए। 

‘पूर्वराष्ट्रपति राष्ट्रको साझा प्रतीक भएकाले उहाँलाई कुनै गुट वा कित्तामा बाँध्न खोज्नु गलत हो,’ उनले भने, ‘पूर्वराष्ट्रपति व्यक्तिगत इच्छा र आकांक्षाबाट चल्ने व्यक्ति होइन, उहाँलाई विभाजित गर्ने र कित्तामा बाँड्ने काम गर्नु हुँदैन। उहाँ देशको अभिभावक हो। उहाँलाई हामीले शिरमा सजाउने हो, फेरि पार्टीमा राजनीतिमा फर्काउने होइन।’

शनिबार सम्पन्न पार्टीको पोलिटब्युरो बैठकमा अधिकांशले पूर्वराष्ट्रपति कुनै पार्टीको सदस्य बनेर, घेराभित्र पसेर राजनीति गर्ने व्यक्तित्व नभएको धारणा राखेको उनले बताए। बैठकमा तामाङले सामाजिक सञ्जालमा पार्टी र नेतृत्वबारे जथाभाबी लेख्नेलाई कारबाही गर्नुपर्ने मत राखेका थिए। 

यस विषयमा जिज्ञासा राख्दा उनले सहजै स्वीकार्दै भने, ‘हो, पार्टीको दृष्टिकोण र निर्णयभन्दा बाहिर गएर प्रस्तुत हुने सदस्यहरूलाई निगरानीमा राख्नुपर्छ भनेको हो। हरेक ठाउँमा विधि हुन्छ, पार्टीमा पनि विधान र अनुशासन हुन्छ, जसको उल्लंघन गर्न पाइँदैन।’

हामीले तामाङलाई सोध्यौँ– ‘सुवास नेम्बाङ र शिवमाया तुम्बाहाङ्फेजस्ता व्यक्तित्वहरू पनि संवैधानिक पदमा पुगेर  फेरि पार्टीमा फर्किएका थिए। विद्या भण्डारी पनि यही विधिबाट फर्किन खोज्दा किन रोक्न खोजेको?’

जवाफमा उनले राष्ट्रपति अन्य पदभन्दा विशिष्ट र सम्मानित भएको तर्क गरे। 

‘राष्ट्रपति देशको अभिभावक, सेनाको परमाधिपति र राष्ट्रिय एकताको प्रतीक भएकाले उहाँ कुनै दलको सदस्य नभएको व्यक्ति हुनुपर्छ,’ उनको तर्क थियो। 

तामाङले अहिलेको सरकारमा मन्त्रीहरूले प्रधानमन्त्री ओलीको स्पिरिट अनुसार काम गर्न नसकेको भन्दै चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताए। 

‘प्रधानमन्त्री दौडिन खोज्नुहुन्छ, तर मन्त्रीहरू हिँड्न पनि सकेनन्,’ उनले भने, ‘केपी ओली भ्रष्टाचार गर्दिनँ भन्नुहुन्छ तर उहाँका कार्यकर्ताहरू घुस डिल गर्दै गरेको अडियोहरू बाहिरिएर राजीनामा दिनुपर्ने अवस्थामा पुगिरहेका छन्। कतिपय मन्त्रीहरूको कार्यशैली र प्रदर्शन एकदमै कमजोर छ, त्यसैले चाँडै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ।’

हामीले तामाङसँग वाम एकताको सम्भावनाबारे पनि जिज्ञासा राख्यौँ। जवाफमा उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता भए मात्र त्यसलाई वाम एकता मान्न सकिने बताए। तर, विगतको अनुभवले गर्दा तत्काल कुनै एकताको सम्भावना नरहेको प्रष्ट पारे। 

‘एमालेलाई विघटन गर्ने कुनै पनि सर्तमा अब वाम एकता सम्भव छैन। तर, एमालेको नीति र नेतृत्व स्वीकार गरेर आउने अन्य दलहरूलाई स्वागत गर्न हामी तयार छौंँ,’ उनले भने। 

हेर्नुहोस् तामाङसँगको कुराकानी:

फोटो/भिडिओः सौगात दाहाल/विशाल कार्की 

साउन ४, २०८२ आइतबार २१:८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad