राजनीति


‘विद्या एमाले अध्यक्ष बन्न पाउनुहुन्न, उमेर हद मैले नै हटाउन लगाएको हुँ’

३२ वर्ष पुरानो प्रसंग कोट्याउँदै ओलीले भने : म पदलोलुप होइन, सेकेन्डम्यान हुनुपरे घरै बस्छु
‘विद्या एमाले अध्यक्ष बन्न पाउनुहुन्न, उमेर हद मैले नै हटाउन लगाएको हुँ’

सीताराम बराल
साउन ४, २०८२ आइतबार २०:८, काठमाडौँ

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार अपरान्ह एकघण्टा लामो भेटवार्ता भयो। 

त्यसअघि शनिबार एमाले पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीबारे आफैले कुराकानी गर्ने र त्यसपछि पार्टी केन्द्रीय कमिटीले निर्णय गर्ने उल्लेख गरेका थिए। 

सोही अनुसार नै प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो। 

अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच के कुराकानी भयो होला? ओलीसँगको भेटपछि भण्डारीले पार्टीमा कुनै महत्त्वपूर्ण जिम्मेवारी पाउलिन्? वा उनले नवीकरण गरेको सदस्यतालाई मान्यता नदिएर एमाले राजनीतिमा उनलाई निरुत्साहित गरिएला? 

शनिबार पोलिटब्युरो बैठक समापनका क्रममा भण्डारीको सदस्यता र जिम्मेवारीबारे ओली जुन रूपमा प्रस्तुत भए, त्यसलाई आधार मान्ने हो भने आइतबारको भेटवार्तामा जिम्मेवारीबारे भण्डारीलाई ओलीले के जवाफ दिए होलान् भन्ने अनुमान लगाउन सकिन्छ। 

नाम उल्लेख गर्न नचाहने एक पोलिट्ब्युरो सदस्यका अनुसार, पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व (अध्यक्ष) पाउने कुनै सम्भावना नरहेको दाबी ओलीले गरेका थिए। 

‘लेखेर राख्नुस्, विद्या भण्डारी एमालेको अध्यक्ष कुनै पनि हालतमा बन्नसक्नु हुन्न,’ ओलीको ठोकुवा नै थियो।

यस्तो ठोकुवा गर्नुअघि ओलीले राष्ट्राध्यक्ष, नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु पूर्णतः गलत रहेको बताएका थिए। 

उनले ‘पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष बन्नै नसक्ने’ ठोकुवा मात्र गरेनन्, एमालेमा रहुन्जेलसम्म आफू ‘फस्टम्यान’ कै रूपमा रहने दाबी पनि गरे। 

‘यो कुरा पनि बुझिराख्नुस्, अब केपी ओली एमालेमा कसैको सेकेन्डम्यान भएर बस्दैन,’ ओलीको भनाइ थियो, ‘सेकेन्डम्यान हुने अवस्था आयो भने छोडेर हिँड्छु...।’

ओलीको यो चेतावनी एमाले राजनीतिमा फर्केर एमाले अध्यक्ष बन्ने पूर्वराष्ट्रपति भण्डारीको योजनाप्रति लक्षित थियो। 

‘सेकेन्डम्यान हुने अवस्था आयो भने छोडेर हिँड्छु’ भन्ने भनाइले कतै भण्डारी एमाले अध्यक्ष बनिन् भने पार्टी फुटाउने ओलीको योजना त होइन भन्ने प्रश्न खडा गर्न सक्थ्यो। 

यो आशंका मेट्ने प्रयास पनि ओलीले त्यहीँ गरे। 

‘छोडेर हिँड्छु भनेको अन्यत्र कतै जान्छु भनेको होइन, घर (बालकोट) जान्छु र ढुक्कसँग बस्छु भनेको हो,’ बैठकमा हाँसोको फोहोरा छुट्नेगरी ओलीले थपे, ‘मेरो आफ्नो घरमा फस्टम्यान हुने त मै हो नि! त्यहाँ मलाई फस्टम्यान हुनबाट त कसैले रोक्न सक्दैन नि!’ 

पदलोलुपताका कारण आफू नेतृत्वमा बसिराख्न खोजेको होइन र एमालेका लागि आफ्नो नेतृत्व किन अनिवार्य छ भन्ने विषयमा पनि ओलीले लामो पृष्ठभूमिसहितको प्रस्टीकरण दिएका थिए। 

त्यसक्रममा उनले आफूले चाहेको भए दासढुङ्गा दुर्घटनापछि नै महासचिव बन्नसक्ने उल्लेख गरे। र, महासचिव चयनका लागि भएको केन्द्रीय कमिटी बैठकको सन्दर्भको लामो व्याख्या गरे।

ओली २०५० को जेठतर्फ फर्केपछि अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले ‘अहिले किन पुरानो सन्दर्भ कोट्याउनुपर्‍यो?’ भन्दै असन्तुष्टि पोखेका थिए। 

‘पुरानो सन्दर्भ नकोट्याई साथीहरूले कुरा नबुझने भए,’ ओलीले बोहोरालाई जवाफ दिए, ‘कुरा बुझाउनका लागि त्यो कुरा मैले भन्नैपर्ने भयो।’

त्यसपछि ओलीले ईश्वर पोखरेल, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीतर्फ आफ्नो औँला सोझ्याए। र, उनीहरूलाई देखाउँदै भने, ‘२०५० मा मलाई महासचिव बन्नुपर्छ बन्ने प्रस्ताव समर्थन गर्ने नेताहरू यही बैठकमा हुनुहुन्छ।’

स्रोतका अनुसार, चार नेताको नामै तोकेर त्यो बेला महासचिव बन्न आफूलाई समर्थन गरेको उल्लेख ओलीले गरेपछि सुरेन्द्र पाण्डेले संक्षिप्त प्रस्टीकरण दिएका थिए, ‘हो, उहाँ (ओली) लाई महासचिव बनाउनुपर्छ भन्ने प्रस्ताव वामदेव गौतमबाट आएको थियो।’ 

पाण्डेले यति प्रस्टीकरण दिएपछि ओलीलाई थप बल पुग्यो।

‘तर, म त्यो बेला म महासचिव बनिनँ। म पदलोलुप थिएँ भने त्यतिबेलै महासचिव बनिहाल्थेँ नि! तर, किन बनिनँ भने पार्टीका लागि त्यो बेला म महासचिव बन्नु त्यति आवश्यक थिएन,’ ओलीले थपे, ‘जतिबेला पार्टीलाई आवश्यक पर्‍यो, त्यसपछि म अध्यक्षका रूपमा नेतृत्वमा आएँ।’ 

पार्टीमा बहुपद, ७० वर्षे उमेर हद र कार्यकाल सम्बन्धी प्रावधान पनि पार्टी लोकतान्त्रीकरणको अवधारणा अनुसार आफूले ल्याएको र अहिले ७० वर्षे उमेर अहिले हटाउने भूमिका पनि आफ्नै रहेको प्रस्ट रूपमा बताए।  

‘यो ७० वर्षे उमेर हद कसले हटायो भन्ने कसैलाई लागेको होला, मैले नै हो हटाएको’ ओलीको भनाइ थियो, ‘विधानसम्बन्धी प्रस्ताव तयार गर्ने क्रममा मैले नै विष्णु पौडेललाई हटाउन लगाएको हुँ। कसले हटायो भन्ने प्रश्न उठ्यो भने मैले हटाएको हो भनिदिनू भनेर हटाउन लगाएको हुँ।’ 

‘पूर्वराष्ट्रपति भण्डारी, ७० वर्षे उमेर हदबारे ओली निकै  कठोर र प्रष्ट रूपमा प्रस्तुत हुनुभएको थियो’ ती पोलिटब्युरो सदस्यले भने, ‘हिजो त्यसरी प्रस्तुत हुनुभएको व्यक्तिले आजै आफ्नो धारणा परिवर्तन गर्नुभयो होला भन्ने लाग्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad