नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको बताएका छन्। नेपाल मतदाता अधिकार मञ्चले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै यस्तो बताएका हुन्।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको उल्लेख गरे। निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको जानकारी दिए।
उनले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको उल्लेख गरे।
'मुहानबाट धमिलो पानी आइराखेको छ, तर हामीले धाराबाट सफा पानी खोज्न मिल्दैन,' उनले भने, 'प्रत्यक्ष कार्यकारी रहने गरी निर्वाचन प्रणाली आवश्यक छ।' जनसंख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व हुनुपर्ने उनको भनाइ थियो।
प्रचण्डले मतदाता अधिकार मञ्चले उठाएका मुद्दाहरू सकारात्मक रहेको उल्लेख गर्दै, यस्ता मागहरू केवल सुझावपत्रमार्फत नेताहरुलाई बुझाएर मात्र पूरा नहुने बताए।
परिवर्तनका लागि आन्दोलन आवश्यक पर्न सक्ने भन्दै उनले, 'परिवर्तनको पक्षमा निरन्तर संघर्ष गर्दै आएको माओवादी केन्द्रलाई यस्ता अभियानमा साथ दिँदा मात्रै परिवर्तनका एजेण्डा सफल हुनेछन्।'
उनले थपे, 'मतदाता अधिकार मञ्चको यो पहल सकारात्मक छ। यस्ता माग र सुझावहरू नेताहरुलाई बुझाएर मात्र परिवर्तन सम्भव हुँदैन। जनताका माग र मुद्धा स्थापित गर्न आवश्यक परे हामी सडक संघर्षमा जान पनि तयार छौं। तपाईंहरू पनि त्यसको लागि तयारी अवस्थामा रहनुहोला।त्यसको तयारी गर्नुहोला।'
मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न मागहरू अध्यक्ष प्रचण्डसमक्ष पेस गरेको छ।
Shares

प्रतिक्रिया