राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेका पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानअन्तर्गत ४६ लाख रूपैयाँ नगद जुटाएको छ। यस क्रममा २४ लाख हस्ताक्षर जुटेको पनि रास्वपाले दाबी गरेको छ।
बिहीबार पत्रकार सम्मेलनमा अभियान संयाेजक दीपक बाेहराले प्रस्तुत गरेकाे विवरणअनुसार, हालसम्म जम्मा भएकाे सहयाेग रकम ४६ लाख १२ हजार ६३७ रूपैयाँ रहेको छ।
तर, खर्च भने ५९ लाख ६७ हजार भएको छ। १३ लाख ५४ हजार ४८६ रूपैयाँ घाटामा रहेको बोहराले जानकारी दिए।
आम्दानीभन्दा खर्च बढी भएकाले अभियान अझै लामाे समय चल्दा थप खर्च हुने अनुमान छ।
रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै जनसमर्थन जुटाउन असार ७ गतेदेखि अभियान सुरु गरेको थियो। यो अभियान कम्तीमा एक सय दिन चल्ने बताएको छ।
हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितिले अभियानकाे नेतृत्व गरेका छन्। साउन ५ गते वडा समितिले अभियानलाई जनस्तरसम्म पुर्याउन घरदैलाे गर्नेछन्।
अब नेपाल-भारत सीमा नाकाका मुख्य बिन्दु (काकडभिट्टा, रक्साैल, जाेगवनी, बेलहिया, जमुनाह, गड्डाचाैकीलगायत), विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिने रास्वपाले जनाएको छ।
उपचुनाव हुने रुपन्देही-३ का ३६ वटै वडाका बुथमार्फत अभियान सञ्चालन गर्ने रास्वपाको भनाइ छ।
५ लाख अपिल र २ लाख हस्ताक्षर फारम छापेर रास्वपाका समिति र शुभेच्छुक-शुभचिन्तकमार्फत अभियानका लागि पठाइको छ।
अभियानका लागि छुट्टै काेष अन्तर्गत खर्च यही काेषबाट भइरहेकाे रास्वपाले जनाएको छ। हालसम्म छपाइमा १७ लाख २० हजार, प्रचार-प्रसार, फ्लेक्स तथा बुथ निर्माणमा ३ लाख ८० हजार, अन्य व्यवस्थापनमा ७ लाख ४५ हजार र विविधमा ८७ हजार खर्च भइरहेको विवरण सार्वजनिक गरिएको छ।
भुक्तानी गर्न बाँकी ३० लाख ३५ हजार रहेको पनि रास्वपाले भनेको छ।
कहाँबाट कति हस्ताक्षर?
हालसम्म संकलित विवरणअनुसार काेसी प्रदेशबाट १ लाख ६६ हजार ८६१ हस्ताक्षर जुटेका छन्।
यस्तै मधेसबाट २० हजार ५०५, बागमतीबाट ६ लाख ३९ हजार ६८, गण्डकीबाट ४ लाख ३२ हजार ७२३ र लुम्बिनीबाट २ लाख ३६ हजार ५९५ हस्ताक्षर संकलन भएका छन्।
कर्णाली प्रदेशबाट ४३ लाख ७७५, सुदूरपश्चिमबाट ९४ हजार ५३५, केन्द्रीय कार्यालयबाट ३३ हजार ३७०, काठमाडौंका अन्य बुथबाट ५९ हजार ८८५, ह्वास्टएपबाट ६ लाख ५० हजार १७२ र इमेलबाट ८० हजार १७६ हस्ताक्षर संकलन भएको रास्वपाको दाबी छ।
हालसम्म जम्मा भएकाे कूल हस्ताक्षर संख्या २४ लाख ५७ हजार ६१८ छ।
Shares

प्रतिक्रिया