नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्यान्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आबद्ध भएकी छन्।
साम्बाले २ सिजनका लागि क्लबसँग सम्झौता गरेकी हुन्। सिजन २०२५/२०२६ र २०२६/२०२७ सिजनसम्म उनी फिनिक्समा रहनेछिन्।
वेलिंगटन न्युजिल्यान्डको क्लब भए पनि यसले अस्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ।
२९ वर्षीया भण्डारी क्लब र देश दुवैका लागि उत्कृष्ट गोलकर्ता हुन्। उनले नेपालका लागि ६० खेलमा ६६ गोल गरेकी छन्। हालै सम्पन्न एएफसी महिला एसियन कप छनोटमा तीन खेलमा लगातार ह्याट्रिक गरिन्।
उनले भारतीय महिला सुपर लिगमा २४ खेलमा ६० भन्दा बढी गोल गरेकी छिन्। सोही प्रभावले गर्दा फ्रान्सको एन एभान्ट गुइङ्ग्याम्पले अनुबन्ध गरेको थियो।
गुइङ्ग्याम्पमा २ सिजन बिताएकी साम्बाले इजरायलको हापोएल रानानाबाट युरोपियन लिगमा डेब्यु गरेकी थिइन्।
गुइङ्ग्याम्पमाआबद्ध भएसँगै गत वर्ष उनी शीर्ष युरोपेली लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडी बनिन्।

फिनिक्सका अन्तरिम प्रमुख प्रशिक्षक एमी शेफर्डले क्लबले असाधारण क्षमता प्रमाणित भएकी गोलकर्तालाई अनुबन्ध गरेको प्रतिक्रिया दिएका छन्।
‘हामी सावित्रालाई फिनिक्समा स्वागत गर्न पाउँदा गर्व गर्छौँ र उनले मैदानभित्र र बाहिर दुवैमा पार्ने प्रभावको लागि उत्साहित छौँ’, शेफर्डले भने।
प्रशिक्षक शेफर्डले थपे, ‘उनले फ्रान्समा विश्वका केही उत्कृष्ट खेलाडीहरूविरुद्ध आफ्नो क्षमता प्रदर्शन गरेकी छिन्। हाम्रो टोलीमा अन्तर्राष्ट्रिय अनुभव र आक्रमणकारी कौशल उनले देखाउनेछिन्।’
साम्बाको उपस्थितिले आक्रामक खेलमा नयाँ आयाम थप्ने विश्वास क्लबले व्यक्त गरेको छ। उनको उपस्थितिले क्लबमा नयाँ समर्थक र नयाँ खेलाडीहरू पनि जोडिने क्लबको अपेक्षा छ।
साम्बा आगामी सेप्टेम्बरमा प्रि-सिजन प्रशिक्षणका लागि वेलिंग्टन पुग्नेछिन्। साम्बाले क्लबसँग भनेकी छन्, ‘म फिनिक्स आउन, धेरै गोल गर्न र फ्यानहरूलाई धेरै खुसी बनाउन साँच्चै उत्साहित छु।’
आगामी सिजन क्लबको योजना राम्रो लागेकाले आफूले क्लबमा आबद्ध हुने निर्णय लिएको उनले बताएकी छन्।
साम्बा सिजन २०२५/२६ ए लिगको लागि वेलिंग्टन फिनिक्स महिला टोलीमा आबद्ध हुने १७ औँ खेलाडी हुन्। क्लबले थप खेलाडीहरू पनि अनुबन्ध गर्ने जनाएको छ।
Shares

प्रतिक्रिया