राजनीति


‘संसदमा म’मा चन्दा कार्की : ४० वर्षको डाक्टरीपछि राजनीतिमा आएँ, तर समय खेर फालेँजस्तो लाग्दैछ (भिडिओ)

‘झुट बोल्दा, धोका दिँदा पनि सम्मान पाइने अचम्मको पेसा रहेछ राजनीति’

नेपालखबर
असार ३० , काठमाडौँ

पारिवारिक पृष्ठभूमि राजनीति भए पनि चन्दा कार्की भण्डारीलाई यसप्रति कुनै मोह थिएन। विगत ४० वर्षदेखि उनी निरन्तर चिकित्सा सेवामा थिइन्। जिन्दगीको लामो हिस्सा बिरामीको उपचारमै बिताएकी थिइन्। उनले करिब ९ वर्ष काठमाडौँबाहिर र बाँकी समय काठमाडौँमा रहेर प्रसूति तथा स्त्री रोग विशेषज्ञकारूपमा महिला तथा बालबालिकाको सेवा गरिन्। 

चिकित्सा शिक्षामा पनि उत्तिकै योगदान दिइन्। लेक्चररदेखि प्रोफेसरसम्म भएर विद्यार्थी पढाइन्। काठमाडौँ मेडिकल कलेजको प्रिन्सिपलदेखि सीईओसम्म भइन्। नेपाल मेडिकल काउन्सिल र काठमाडौँ विश्वविद्यालयको सिनेट सदस्यसम्म भएर काम गरिन्। तर, राजनीति गरिएला, सांसद भइएला भन्ने कहिल्यै कल्पना पनि गरेकी थिइनन्। 

‘राष्ट्रिय स्वतन्त्र पार्टी खुल्ने क्रममा रवि लामिछाने र तत्कालीन महामन्त्री डाक्टर मुकुल ढकालसँग मेरो चिनजान भयो,’ नेपालखबर ‘संसदमा म’मा आइपुगेकी कार्कीले भनिन्, ‘उहाँहरूले पार्टीमा आबद्ध हुन आग्रह गर्नुभयो। रास्वपासँगको आबद्धताबारे मैले धेरै विचार गरेपछि भर्खरै रिटायरमेन्ट लिएको हुनाले यो देशलाई अझै योगदान दिन सक्छु भन्ने लाग्यो। राजनीति भनेको त सबै नीतिहरूको मूल नीति हो। त्यहाँ गएर मैले आफ्नो पेसालाई मात्र होइन, यो राष्ट्र र समाजलाई नै केही योगदान गर्न सक्छु भन्ने हिसाबले म पार्टीमा जोडिएँ।’

रास्वपाको समानुपातिक सूचीमा महिलातर्फ पहिलो नम्बरमा उनको नाम चढ्यो। ०७९ को निर्वाचनमा रास्वपाले राम्रो मत ल्याएपछि उनी समानुपातिक सांसदको रूपमा प्रतिनिधि सभामा पुगिन्। उनी अहिले रास्वपाको केन्द्रीय सदस्यसहित पार्टीको गुनासो व्यवस्थापन विभागकी प्रमुखसमेत हुन्। 

राजनीति सुरु गर्नुअघि उनलाई यो एकदमै सम्मानजनक पेसा भन्ने लागेको थियो तर अनुभवले ठिक उल्टो महसुस गराइरहेको छ। 

‘मैले राजनीतिलाई धेरै ठूलो र सम्मानित ठाउँमा राखेर हेरेको थिएँ,’ उनले भनिन्, ‘यो त सबै नीतिहरूको राजा नीति हो, जसले देश, समाज र राष्ट्रलाई दिशा दिन्छ भन्ने मेरो सोच थियो। तर सदनभित्रको वास्तविकता फरक पाएँ।’

सांसद भएर आफूले सोचेजस्तो काम गर्न नपाएको उनको अनुभव छ। 

‘मलाई सधैँ लाग्थ्यो, पढाइमा राम्रा विद्यार्थी डाक्टर, इन्जिनियर बन्छन् र अलि कमजोरहरू राजनीतिमा जान्छन्,’ उनले भनिन्, ‘त्यसैले पढेलेखेका मान्छे पनि राजनीतिमा जानुपर्छ भन्ने सोचेर म आएको थिएँ। तर यहाँ आएपछि मैले सोचेजस्तो धेरै काम गर्न सकिएन। यो तीन वर्षमा कहिलेकाहीँ त मैले समय खेर फालेँ कि जस्तो पनि अनुभूति हुन्छ।’

सदनमा पार्टीहरू महँगी, रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता जनताका मुद्दामा छलफल गर्नुको सट्टा एकअर्कालाई गाली गर्ने र दलीय स्वार्थमा अल्झिरहेको  देख्दा चन्दाको मन दुःखेको छ। 

‘सदन घण्टौँसम्म अवरुद्ध हुन्छ, जसले २७५ जना सांसदको समय बर्बाद हुन्छ,’ उनी भन्छिन्, ‘हामीले कहिल्यै बसेर जनतालाई चामल, दाल कसरी सस्तोमा दिने वा युवालाई रोजगारी कसरी दिने भनेर गम्भीर छलफल गरेनौँ। हामी सांसदहरू दलभन्दा माथि उठ्न सकेनौँ। जनता पनि आफ्नो विवेक प्रयोग गर्नुभन्दा कार्यकर्ता नै भएर बसिरहे। यो हाम्रो प्रणालीको कमजोरी हो।’

चिकित्सा पेसाभन्दा राजनीतिको कार्यशैलीमा उनले ठूलो भिन्नता महसुस गरेकी छन्। 

‘चिकित्सा पेसामा हामी थोरै मान्छेले धेरै काम गर्छौँ,’ उनी भन्छिन्, ‘एकअर्कालाई विश्वास र सहयोग गर्छौँ तर राजनीतिमा ठीक उल्टो रहेछ। यहाँ छेउमा बसेको साथीलाई पनि विश्वास गर्न गाह्रो छ। झुट बोल्दा, धोका दिँदा वा अभद्र व्यवहार गर्दा पनि सम्मान पाइने अचम्मको पेसा रहेछ राजनीति।’

चन्दाले बुझेकी छन्, सांसदको मुख्य काम कानुन निर्माण हो। यसका लागि उनले नयाँ विद्यार्थीसरह धेरै अध्ययन गरेकी छन्। 

‘लगभग १६–१७ वटा कानुन निर्माणमा मैले आफ्नो समितिमा रहेर राम्रो इनपुट दिएको छु, संशोधन प्रस्ताव राखेको छु र छलफलमा भाग लिएको छु,’ राज्य व्यवस्था समितिमा रहेकी उनले भनिन्, ‘सांसदको अर्को काम सरकार बनाउने र सरकारलाई सचेत गराउने हो। हामीले अहिले भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध निरन्तर आवाज उठाइरहेका छौँ र सरकारलाई सचेत गराइरहेका छौँ।’

सुरुमा चन्दा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्छु भन्ने राजनीतिमा आएको बताउँछिन्। 

‘तर देशमा भ्रष्टाचारको जालो यति गहिरो रहेछ कि भत्केका पुलसमेत बेचेर खाने प्रवृत्ति देखेँ,’ उनी आश्चर्य प्रकट गर्दै भन्छिन्, ‘अहिले कुनै पनि सरकारी कार्यालयमा घुस नखुवाई वा बिचौलियाविना काम हुँदैन। यो तीतो यथार्थ हो। त्यसैले मलाई लाग्यो, जबसम्म हामी यो भ्रष्टाचार र बेथितिको जालो चिर्दैनौँ, तबसम्म स्वास्थ्य वा शिक्षा कुनै पनि क्षेत्रमा सुधार गर्न सकिँदैन। मेरो ध्यान अब सुशासन स्थापना गर्नेतर्फ केन्द्रित भएको छ।’

तीन वर्षे अनुभवपछि उनले देश बनाउन प्रणालीमै केही गम्भीर सुधार आवश्यक रहेको महसुस गरेकी छन्। 

‘पहिलो, प्रत्यक्ष निवाएचित कार्यकारी। प्रधानमन्त्री वा राष्ट्र प्रमुख जनताले सिधै चुन्न पाउनुपर्छ,’ उनी भन्छिन्, ‘सरकार र संसदलाई छुट्याउनुपर्छ। सदनका सदस्यहरू मन्त्री बन्नुहुँदैन। मन्त्रीहरू बाहिरका विज्ञहरूबाट बनाउनुपर्छ, ताकि सांसदहरूले कानुन निर्माणमा मात्रै पूरा ध्यान दिन सकून्। त्यस्तै देशले धान्न सक्ने गरी संघीय संरचनालाई परिमार्जन गर्नुपर्छ। पालिकाहरूको संख्या घटाउन सकिन्छ। प्रदेश सभाको संरचना पनि घटाउन सकिन्छ।’

लगत्तै उनी थप्छिन्, ‘कुनै पनि पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने नियम बनाउनुपर्छ। साथै, अवकाशप्राप्त पदाधिकारीहरूलाई दिइने अतिरिक्त सेवा–सुविधा हटाउनुपर्छ, जबसम्म देश समृद्ध हुँदैन।’

संसदमा अब दुई वर्ष कार्यकाल बाँकी छ। बाँकी दुई वर्ष रास्वपा र आफूले प्रणालीगत सुधारका लागि आवाज उठाउने उनको संकल्प छ। 

‘अब बाँकी दुई वर्षमा मेरो र हाम्रो पार्टीको मुख्य संकल्प भनेको यिनै प्रणालीगत सुधारका लागि आवाज उठाउने हो,’ उनले भनिन्, ‘यदि जनताले हामीलाई बलियो जनादेश दिए भने हामी संविधान परिमार्जन गरेर भए पनि यी सुधारहरू लागू गर्ने प्रयास गर्नेछौँ। हाम्रो अन्तिम लक्ष्य भनेको देशमा सुशासन कायम गर्नु र जनतालाई समृद्ध बनाउनु हो।’

हेर्नुहोस्, ‘संसदमा म’ : जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाटः

फोटो/भिडिओ : सरोज नेपाल/सौगात दाहाल

असार ३०, २०८२ सोमबार २०:१७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad