प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानको चुलोमा आगो बाल्न नसकिने अवस्था आएको भन्दै सरकार जनताको समस्यामा गम्भीर नभएको आरोप लगाएका छन्।
उनले रोपाईंको मध्य समयमा समेत किसानहरूलाई समयमै मलखाद उपलब्ध गराउन नसकेको र सरकारले गम्भीर लापरवाही गरेको आरोप समेत लगाए।
‘मेरो नेतृत्वको सरकारले अघिल्लो वर्ष मल वितरण सुनिश्चित गर्दै चालु आर्थिक वर्षका लागि ५ लाख ५० हजार टन मल आपूर्ति गर्न २७ अर्ब ९७ करोड बजेट विनियोजन गरेको थियो,’ प्रचण्डले भने, ‘तर, असार सकिन लाग्दा पनि किसानका खेतमा मल पुगेको छैन।’
उनले हालसम्म २ लाख मेट्रिक टनभन्दा बढी मल आयात नै गर्न नसकेको तथ्य सार्वजनिक गर्दै भने, ‘आयात भएको भनिएको मल कहाँ गयो?’
प्रचण्डले मल वितरणमा शक्ति र पहुँचका आधारमा हुने गरेको पक्षपात अन्त्य गर्न पनि सरकारलाई आग्रह गरे। उनले उखु किसानको वक्यौता अझै नदिएको, अनुदान समेत आधा घटाइएको विषयमा पुनर्विचार गर्न सरकारलाई सुझाव दिए।
तराई-मधेसका किसान सिँचाइ र पर्याप्त वर्षा नहुँदा संकटमा परेको उल्लेख गर्दै प्रचण्डले भने, ‘धानका बेर्ना सुकिरहेका छन्, रोपिएका धानबाली पनि मरिरहेका छन्। यस्तो अवस्थामा कृषि मिटर रोकिएको छ, विद्युत् आपूर्ति बन्द छ।’
प्रचण्डले किसानलाई तत्काल कृषि मिटर उपलब्ध गराउन, विद्युत् आपूर्ति सुचारु गर्न, सिँचाइको उचित व्यवस्था मिलाउन र तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।
Shares

प्रतिक्रिया