पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि यतिखेर नेकपा एमालेभित्र आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुन सक्ने आकल भइरहेको छ।
कतिपय नेताले खुलेरै भनिरहेका छन्– अब केपी ओलीको विकल्प विद्या भण्डारी नै हुन्। साँच्चै त्यस्तै हो?
सोमबार नेपालखबर ‘तत्कालै’ मा कुराकानी गर्न स्टुडिओमा आइपुगेका एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापासँग यही जिज्ञासा राख्दा उनले अब ओलीको सहज र स्वाभाविक विकल्प भण्डारी नै रहेको बताए।
त्यसो त थापा लामो समयदेखि भण्डारीको पक्षमा खुलेरै बोलिरहेका नेता हुन्।
‘केपी ओलीको सहज विकल्प सबैले स्वीकार गर्ने, पदीय जिम्मेवारीले पनि, वरिष्ठताले पनि, सक्रियता र इमान्दारीताले पनि विद्या भण्डारी नै हो,’ थापाले भने, ‘उहाँको जुन स्वच्छ छवि छ, त्यो हिसाबले पनि अहिले विद्या भण्डारीजस्तो व्यक्तित्व समाजले खोजिरहेको छ। त्यसका निम्ति सक्षम मान्छे हो उहाँ।’

समग्रमा नेकपा एमाले र वामपन्थी आन्दोलनको भविष्यका दृष्टिकोणले पनि अहिले भण्डारीको आवश्यकता रहेको उनको मत छ।
‘हाम्रो पार्टीको पूर्वउपाध्यक्ष, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तित्व र उहाँको विशेषता के छ भने उहाँ पदीय आकांक्षाका कारणले गर्दा फेरि सक्रिय राजनीतिमा आइरहनुभएको छैन,’ थापाले भने, ‘विशेष परिस्थितिमा उहाँको माग हुन गएको छ। राष्ट्रपतिको जुन जिम्मेवारीमा उहाँ जानुभयो, त्यसलाई कुशलतापूर्वक निर्वाह गर्नुभएको छ। उहाँ जुनजुन जिम्मेवारीमा जानुभयो, त्यसपछि उहाँको व्यक्तित्व झन् राम्रोसँग निखारिएको छ। झन् विश्वास बढेको छ। यस्तो परिस्थितिमा मलाई लाग्छ, नेकपा एमालेका निम्ति उहाँको व्यक्तित्व आशालाग्दो पुँजी हो। त्यसको संरक्षण गर्नुपर्छ र उचित ढंगले सम्मान गर्नुपर्छ।’
थापालाई हामीले सोध्यौँ– विद्या भण्डारीले एमालेको नेतृत्वमा आएको अवस्थामा एकीकृत समाजवादी, माओवादी केन्द्र लगायत वामपन्थी दलहरूसँग एकताको सोच पनि राख्नु भएको छ?
जवाफमा उनले त्यो सम्भावना एकदमै रहेको बताए।
‘एकदमै रहन्छ,’ थापाले भने, ‘गाउँ–गाउँका कार्यकर्ताहरू के भन्छन् भने अब एकता हुनु आवश्यक छ। सहकार्य होला, कार्यगत एकता होला, मोर्चा बन्ला, यी अनेक चरणहरू पार गरेर एकतामा जानुपर्छ भन्ने मत छ। एकताका निम्ति साझा व्यक्तित्व चाहिन्छ र त्यो विद्यादेवी भण्डारी हुन सक्नुहुन्छ।’

विद्या भण्डारीले चाहिँ कसरी मिलाउन सक्नुहोला त भन्ने प्रश्नमा उनको जवाफ छ, ‘अहिले मैले धेरै ठाउँमा एकताको कुरा भनिरहँदा मलाई धेरैले एकदम सही कुरा गर्नुभयो भनिरहनुभएको छ। पूर्वाग्रह नराखेर, दुराग्रह नराखेर, हिजोका कमीकमजोरीहरू सच्याएर एकता हुन्छ, गराउनुपर्छ।’
नेकपा एमालेभित्र अहिले ७० वर्षे उमेर हद र दुई वर्षे कार्यकालको व्यवस्था विधानबाट हटाइएको चर्चा चलिरहेको छ। स्थायी कमिटी सदस्य थापा भने यसलाई एमालेभित्र भइरहेको छलछामका रूपमा हेर्छन्। तीनखाले विधान छापेर छलछाम गर्न खोजिएको भन्दै उनी स्टुडिओमा विधानका ठेलीसहित आइपुगेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नै आफ्नो पुस्तक ‘जबज र पार्टी जीवनको लोकतान्त्रीकरण’ मा ७० वर्षे उमेर हद र दुई वर्षे कार्यकालको व्यवस्थाबारे अभियान चलाएको भन्दै थापाले तेस्रोपटक पार्टी अध्यक्षमा दाबी गर्नेमा आफूलाई विश्वास नभएको बताए।
‘आफैले लडेर स्थापित गरेका असल मान्यताहरू अब पदीय आकांक्षाले गर्दा आफै फेरि अर्को ढंगले गरौँ भनेर भन्नुहुन्छ भन्ने कुरामा मलाई विश्वास छैन,’ थापाले भने।
एमालेभित्र सुरु भएको नेतृत्व परिवर्तनको बहस र विधानमा देखिएको विवाद के हो? हेर्नुहोस्, कर्णबहादुर थापासँग नेपालखबर ‘तत्कालै’ :
फोटो/भिडिओः सरोज नेपाल

प्रतिक्रिया