राजनीति


स्पेनबाट फर्किंदा प्रधानमन्त्री ओलीको ‘मुख बन्द’ हुनुको रहस्य पत्ता लगाएको रावलको दाबी

स्पेनबाट फर्किंदा प्रधानमन्त्री ओलीको ‘मुख बन्द’ हुनुको रहस्य पत्ता लगाएको रावलको दाबी

नेपालखबर
असार २२, २०८२ आइतबार १०:२५, काठमाडौँ

‘मातृभूमि जागरण अभियान’का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट सकेर स्वदेश फर्किंदा विमानस्थलमा भ्रमणबारे कुनै प्रतिक्रिया नदिनुको कारण पत्ता लगाएको दाबी गरेका छन्।  

स्पेनमा आयोजित संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्तीय सहयोग विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनका लागि भनेर गएका प्रधानमन्त्री ओली ‘विज्ञता अभाव’का कारण त्यसमा सहभागी हुन नसकेको पाइएको दाबी रावलले गरेका हुन्। 

त्यही कारण उनले स्वदेश आएर त्यस विषयमा केही बताउन नसकेको आरोप रावलले प्रधानमन्त्रीलाई लगाएका छन्।  

‘अध्ययन गर्दा उक्त सम्मेलनमा अर्थ र वित्तसम्बन्धी विषय छलफलको कार्यसूचीमा राखिएको र त्यसमा विषय विज्ञले मात्र सार्थक रूपमा सहभागी हुनसक्ने रहेछ। त्यसैकारण भारत, चीन, पाकिस्तान र भुटानबाट अर्थमन्त्रीहरू, श्रीलंकाबाट राष्ट्रपतिका अर्थ र वित्त सल्लाहकार वरिष्ठ अतिरिक्त सचिव, माल्दिम्भसबाट अर्थविज्ञ उपराष्ट्रपति, बंगलादेशबाट अर्थमन्त्रालयसँग सम्बद्ध अधिकारीहरू सहभागी भएका रहेछन्। स्पेनसँग केही विषयमा कुरा नमिलेकोले अमेरिका सहभागी नभएको र रुसबाट पनि कुनै उल्लेखनीय सहभागिता नरहेको स्थिति रहेछ’, रावलले वक्तव्य जारी गरी भनेका छन्, ‘सम्मेलनबाट पारित ४२ पृष्ठ लामो दस्तावेज सर्सती हेर्दा त्यसमा अर्थ वित्त तथा विकास सहायता एवं तत्‌सम्बन्धी कार्यनीति रणनीतिलगायतका विषयहरू अत्यन्त विषय-विज्ञताको आधारमा उल्लेख गरिएका रहेछन्। यी सबै कुराबाट सम्मेलनमा नेपालका प्रधानमन्त्री सहभागी हुनुको कुनै महत्त्व र औचित्य देखिएन। आयोजक देशका राजा र प्रधानमन्त्री तथा संयुक्त राष्ट्रसंघका महासचिवसँग कार्यसूचीविहीन भेटघाटले देशको लागि तथा कूटनीतिक दृष्टिले कुनै अर्थ नराख्ने स्पष्टै छ। यही भएर स्वदेश फिर्तीका अवसरमा विमानस्थलमा प्रधानमन्त्रीको मुख बन्द भएको रहेछ। यस्तैलाई भन्छन्– व्यक्तिगत लहडमा आधारित असफल कूटनीति!’

यस्तो छ भीम रावलको पूरा वक्तव्य:

‘प्रधानमन्त्री केपी ओली हालै स्पेनमा आयोजित संयुक्त राष्ट्र संघीय विकासका लागि वित्तीय सहयोग विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई स्वदेश फर्किनु भएपछि सधैँको भन्दा फरक किसिमले भ्रमणबारे केही नभनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट किन बाहिरिनुभयो भन्ने कौतुहल लागेकोले उक्त सम्मेलनमा छलफलका विषय कस्ता थिए र त्यसमा के कस्ता संस्था र व्यक्तिहरूको सहभागिता थियो भन्नेबारे अध्ययन गरियो।

अध्ययन गर्दा उक्त सम्मेलनमा अर्थ र वित्तसम्बन्धी विषय छलफलको कार्यसूचीमा राखिएको र त्यसमा विषय विज्ञले मात्र सार्थक रूपमा सहभागी हुनसक्ने रहेछ। त्यसैकारण भारत, चीन, पाकिस्तान र भुटानबाट अर्थमन्त्रीहरू, श्रीलंकाबाट राष्ट्रपतिका अर्थ र वित्त सल्लाहकार वरिष्ठ अतिरिक्त सचिव, माल्दिम्भसबाट अर्थविज्ञ उपराष्ट्रपति, बंगलादेशबाट अर्थमन्त्रालयसँग सम्बद्ध अधिकारीहरू सहभागी भएका रहेछन्। स्पेनसँग केही विषयमा कुरा नमिलेकोले अमेरिका सहभागी नभएको र रुसबाट पनि कुनै उल्लेखनीय सहभागिता नरहेको स्थिति रहेछ।

सम्मेलनबाट पारित ४२ पृष्ठ लामो दस्तावेज सर्सती हेर्दा त्यसमा अर्थ वित्त तथा विकास सहायता एवं तत्‌सम्बन्धी कार्यनीति रणनीतिलगायतका विषयहरू अत्यन्त विषयविज्ञताको आधारमा उल्लेख गरिएका रहेछन्। यी सबै कुराबाट सम्मेलनमा नेपालका प्रधानमन्त्री सहभागी हुनुको कुनै महत्त्व र औचित्य देखिएन। आयोजक देशका राजा र प्रधानमन्त्री तथा संयुक्त राष्ट्रसंघका महासचिवसँग कार्यसूचीविहीन भेटघाटले देशको लागि तथा कूटनीतिक दृष्टिले कुनै अर्थ नराख्ने स्पष्टै छ।

यही भएर स्वदेश फिर्तिका अवसरमा विमानस्थलमा प्रधानमन्त्रीको मुख बन्द भएको रहेछ। यस्तैलाई भन्छन्- व्यक्तिगत लहडमा आधारित असफल कूटनीति! 

यो पनि कुनै पनि देशको जिम्मेवार सरकार वा राष्ट्र प्रमुख तथा दलको प्रमुखले विदेशमा गएर आफ्नो देशको सरकार र दलमा भएका समस्या, मतभेद वा वहसवारे विदेशमा गएर बोल्दैनन्, बोल्नु हुँदैन। झन् प्रधानमन्त्रीजस्तो पदासीन व्यक्तिले विदेशको औपचारिक भ्रमण गरिरहँदा उक्त किसिमले बोल्नु झनै अनुचित हुन्छ। तर "झोले” प्रधानमन्त्री केपी ओलीले स्पेनमा “विद्या भण्डारीलाई आफ्नाविरुद्ध उचालेको” भन्दै एमालेभित्रको अन्तरविरोध तथा आफ्नो चरम पद मोहलाई मात्र अगाडि ल्याउनुभएन, कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो कार्यकाल सकिनुअघि नै प्रधानमन्त्रीको पद हस्तान्तरण गर्ने कुरा गर्नुभयो। यस्ता कुरा जो सुकैका बीच गरिए पनि प्रधानमन्त्री तथा ठूलो दलका अध्यक्षका लागि शोभनीय होइन र देशको मर्यादा र स्वाभिमान अनुकूल पनि ठहरिन्न।’

२१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असार १४ गते स्पेनका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्किएका थिए। 

यो पनिस्पेनबाट फर्किँदा किन बोलेनन् प्रधानमन्त्री?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad