अर्थ समितिका पछिल्ला बैठकमा भारतीय नोटबारे गर्मागर्मी बहस हुन थालेका छन्। गभर्नर सम्मिलित बैठकमै खासगरी भारतबाट नेपाल आउँदा भारु नोट कम ल्याउन दिइएको कारण नेपालमा आउने भारतीय पर्यटकहरूले खर्च गर्न नपाएको भन्दै समिति बैठकमा सांसदहरूले प्रश्न उठाए।
अर्थ समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल आउने भारतीयलाई भारु नोट ल्याउन कडाइ गरिएकै कारण धेरै होटलहरूमा चहलपहल घटेको बताए।
प्रमुख सचेतक शाहीले भने, ‘बोर्डर साइटमा पूर्वको धुलाबारीदेखि पश्चिमको दोधारा चाँदनीसम्म हरेक पाँच किमिमा थ्री स्टार लेभलका होटलहरू चलाइएका छन्। ति होटल किन खोलिएका हुन् भने भारतीय पर्यटकहरू आउन् र खर्च गरुन् भनेरै हो। तर नेपाल राष्ट्र बैंकको नियम एउटा सीमा राखेर भारु नोट ल्याउन पाउने नीति बन्यो। त्यो नीतिका कारण नेपालका व्यवसाय ठप्प भयो। नोट ल्याउन नपाउने भन्नेमा संवैधानिक व्यवस्थामा कुनै अड्चन पनि छैन। कुनै नेपालमा ऐन पनि बनेको देखिन्न। यो नेपाल राष्ट्र बैंकका गभर्नरले एउटा निर्देशिका जारी गरेकै भरमा रोकिएको छ।’
भारु नोटबारे शाहीले मात्रै प्रश्न सोधेनन्, अर्का सत्ताघटक एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले समेत प्रश्न गरे। उनले नेपालको नीतिका कारण भारुमा ल्याउन नपाएको र पर्यटन क्षेत्र प्रभावित भएको बताए।
एमाले सांसद थापाले भने–‘पर्यटकहरूलाई आकर्षित गर्ने र अर्थतन्त्रलाई त्यसले महत्वपूर्ण टेवा पुर्याउने गरी पोलिसिका बारेमा हामी छलफल गर्छौं। तर तीन वर्ष भो हामी कहाँ आउने भारतीय पर्यटकले खर्च गर्न रकम ल्याउन नपाउने स्थीति रह्यो। हाम्रा कानूनका कारणले यो स्थीतिको अन्त्य गर्नुपर्छ। हाम्रा पोलिसिले कन्ट्रोल गरेको छ र इकोनोमिले क्षती गरेको छ भने एक्सन लिनुपर्छ।’
शाही र थापाको प्रश्नको जवाफ दिन अर्थसमिति सभापति सन्तोष चालिसेले गभर्नर विश्वनाथ पौडेललाई निर्देशन दिए। तर उनले दिन चाहेनन्। बैठकमा सहभागी राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई गभर्नर पौडेलले जवाफ दिन आग्रह गरे। कार्यकारी निर्देशक पौडेलले भारतीय नागरिकहरूले भारतमा आयआर्जन गरेको रकम नेपाल ल्याउँदा एकसय भन्दा माथिका ठूला नोटहरू ल्याउन नपाइने बताए।
कार्यकारी निर्देशक पौडेलले भने– ‘भारतीय नागरिकहरूले भारतमा आयआर्जन गरेको रकम नेपाल ल्याउँदा एक सय भन्दा माथिका ठूला नोटहरू ल्याउन पाइँदैन। एउटा पनि पाइँदैन। त्यो भनेको नेपाल र भारतको आफ्नो नीतिगत व्यवस्थाले गर्दा हो। तर ५ हजार डलर बराबरको भारतीय रुपैयाँ भन्सार जाँचपास गराएर ल्याउन सकिन्छ। त्यो भनेको सय त्यो भन्दा तलका साना नोट ल्याउनुपर्छ। पाँच हजार डलर त्यो भनेको करिब ४ लाख भारुसम्म ल्याउन सकिन्छ। स्पष्ट पार्न चाहन्छु।’
कार्यकारी निर्देशक पौडेलकाअनुसार ५ हजार डलर भन्दा बढि वा सो बराबरको अन्य विदेशी मुद्रा ल्याउनु पर्दा भन्सार जाँचपास गराएर ल्याउनुपर्छ। १० लाख नेपाली रुपैयाँ भन्दा बढिको क्यास लिएर आवात जावत गर्न विशेष कारण परेको बेलामा मात्रै पाइन्छ। अन्य बेला नपाइने उनले बताए।
राष्ट्र बैंकका निर्देशक पौडेलको जवाफमा शाहीले चित्त बुझाएनन्। शाहीले पाँच सयका भारु नोट नेपालमा के कारणले प्रतिबन्ध गरियो भन्दै प्रश्न तेर्स्याए। उनले भारतमा २ हजारका नोट पनि चल्ने तर नेपालमा पाँच सयका भारु नोट नचल्ने त्यस्तो हुन नसक्ने बताए।
समिति सभापतिले समेत शाहीको प्रश्न सही भएको भन्दै पाँच सयको नोट कुन कानूनले ल्याउन नपाउने हो जवाफ दिन राष्ट्र बैंकका निर्देशक पौडेललाई फेरि रुलिङ गरे। जवाफमा पौडेलले नेपालका बैंकहरूसँग एक सय र पाँचसयका धेरै नोटहरू रहँदा रहँदै जब भारतमा रातारात पाँचसयका नोटमा प्रतिबन्ध लगाइयो त्यसबाट औपचारिक रुपमा ती नोट भारतलाई बिक्री गर्ने अवस्था नरहेको बताए।
उनकाअनुसार धेरैपटक भारतलाई आग्रह गर्दा पनि अहिले पनि पुराना नोट नसाटिँदा थ्रुपै भारतीय नोट यथावत छन्। बिचमा भारतसँग एउटा छलफल भएको बताउँदै उनले भारतीय पक्षले एक सयभन्दा बढिका भारु नोट नेपालमा ल्याउन पाइने तर नागरिकले बोकेर लैजान नपाउने कुराकानी भएको र सोही नियम भारतमा लागू गरिको बताए।
नागरिकले ठूला भारतीय नोट बोकेर हिँड्दा ती नोटले नेपाली नोटलाई बिस्थापित गर्नसक्ने अर्को जोखिम भएकाले त्यसमा राष्ट्र बैंकले पनि कडाइ गर्न बाध्य भएको उनले बताए।
भारतीय नोटका बारेमा अर्थसमितिको शुक्रबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिएका छन्। उनले नेपालका कारणले मात्रै नभई भारतीय कारणले कडाइ भइरहेको बताए।
उनकाअनुसार भन्सारमा घोषणा नगरी ४ लाख र घोषणा गरेर ६ लाख भारू ल्याउन सकिन्छ। क्युआर कोड र कार्डबाट भुक्तानी गर्न सकिन्छ। ५०० भारूको नोटबारे नेपालको मात्र निर्णयले मात्रै भारतमा फिर्ता हुने अवस्था नरहेको मन्त्री पौडेलले स्पष्ट पारे।
Shares

प्रतिक्रिया