नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले पार्टीका नेता कार्यकर्ताले आम निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान गर्न नपाएको विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएकी छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्नेक्रममा गुरुङले कांग्रेसकै उम्मेदवारलाई भोट हाल्न नपाउनेलाई क्रियाशील बनाएर के फाइदा? भनेर प्रश्न गरेको हुन्।
'पार्टी बलियो बनाउने हो भने नीति स्पष्ट र निष्पक्ष हुनुपर्छ, न्यायिक बनाउनुपर्छ। जसले जे बोल्न पनि पाउने, लेख्न पनि पाउने, भोट हाल्न नपाउने भएपछि कांग्रेसको सदस्य किन बनाउने?,' उनले सभापति शेरबहादुर देउवालाई सोधिन्, '३६५ दिनमध्ये भोट हाल्ने एक दिन पनि हाल्न नपाउने हो भने किन चाहियो कांग्रेसको सदस्यता? मलामी जान मात्रै चाहिएको हो? यो स्पष्ट पारियोस्। नत्र जुनसुकै ठूलो नेता सभापति बन्नुस् नेतृत्व गर्नुस् अगाडि बढ्न सक्दैन।'
उनले जारी केन्द्रीय समिति बैठकमा नेताहरू व्यक्तिगत आरोपप्रत्यारोपमा उत्रिएको भन्दै आपत्ति जनाइन्। 'कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेको छ। यो बैठक कांग्रेसले मात्रै हेरिएको छैन देश विदेशमा बसेकाले पनि हेरेका छन्,' उनले थपिन्, 'एजेन्डामाथि छलफल छैन व्यक्तिमाथि आरोपप्रत्यारोप गरेर के सन्देश जान्छ यसमा ध्यानाकर्षण गराउन चाहन्छु।'
उनले सधैँ निर्वाचनमा अन्य दलसँग गठबन्धन गरिरहँदा भोलि दलको भविष्य के हुन्छ भन्नेबारे सोच्न पनि आग्रह गरिन्।
त्यस्तै गुरुङले पार्टीको सदस्यता नवीकरण नभएको विषयमा ध्यान दिनुपर्ने बताइन्। 'पार्टी सदस्यता जस्तो हुनुपर्ने हो त्यस्तो नवीकरण भइरहेको छैन। शिक्षक संघ र कर्मचारीले नवीकरण गरेका छैनन्। नवीकरण गर्न छोडे। यस विषयमा के गर्ने भनेर ध्यान दिनुपर्यो' उनले भनिन्।
उनले उदाहरण भन्दै थपिन्, 'चितवनमा क्रियाशील चाहिँ १३ हजार हुने मत चाहिँ १० हजार आउने। अनि केको लागि कांग्रेस हुने? यस्तो खालको क्रियाशील सदस्य कांग्रेसले अब धान्न सक्दैन।'
उनले अनुशासन समितिको कामकारबाहीको विषयमा पनि प्रश्न उठाइन्।
Shares

प्रतिक्रिया