नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रतिवेदन तयारीका लागि प्रदेश र जिल्ला कमिटीहरूलाई असार मसान्तभित्र लिखित प्रतिवेदन पठाउन निर्देशन दिएका छन् ।
मंगलबार पार्टीका कोसी र मधेस प्रदेशमा पार्टीबाट तोकिनुभएका इन्चार्जहरू, प्रदेश कमिटीका अध्यक्ष तथा अन्तर्गतका जिल्ला कमिटीका अध्यक्ष र पदाधिकारीहरूसँगको बैठकलाई केन्द्रीय कार्यालयबाट भर्चुअल सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको विधान महाधिवेशन नीति र विधि निर्माणको महाधिवेशन भएकाले त्यस काममा केन्द्रित हुन भनेका हुन्।
एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा आयोजना गर्ने निर्णय भएको छ। यसका लागि राजनीतिक प्रतिवेदनको जिम्म्वारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई, विधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मेवारी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र संगठनात्मक प्रतिवेदनको जिम्मेवारी महासचिव पोखरेललाई दिइएको छ।
महासचिव पोखरेलले विधान महाधिवेशनमा नीति र विधि निर्माणको काम हुने र राष्ट्रिय महाधिवेशनबाट नेतृत्वको टुंगो लाग्ने हुँदा नीति र विधि निर्माणमा केन्द्रित हुनपर्ने बताएका छन्।
पार्टीको राष्ट्रिय महाधिवेशनको मितिसमेत निर्धारण भइनसकेको अवस्थामा अहिलेदेखि नै नेतृत्वका सन्दर्भमा पक्ष/विपक्षमा धार सिर्जना गर्ने प्रयास सञ्चारमाध्यमहरूबाट हुन थालेको टिप्पणी गर्दै महासचिव पोखरेलले नीति र विधि निर्माणको काममा केन्द्रित हुन नेता/कार्यकर्तालाई आग्रह गरे।
उनले पार्टीलाई कमजोर बनाउने गरी सुरु भएका चर्चा र टिकाटिप्पणीप्रति कार्यकर्तालाई सचेत गराउन जिल्ला नेतृत्व तहलाई निर्देशन पनि दिए।
विद्या भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि आगामी महाधिवेशनमा अध्यक्ष पदमा उनले ओलीलाई टक्कर दिने चर्चा भइरहेको छ।
Shares

प्रतिक्रिया