राजनीति


राजनीतिमा आउने कुलमानको संकेत, प्रवासी भेट्न लागे मध्यपूर्व

राजनीतिमा आउने कुलमानको संकेत, प्रवासी भेट्न लागे मध्यपूर्व

नेपालखबर
असार १७, २०८२ मंगलबार २१:१७, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफू राजनीतिमा आउने संकेत गरेका छन्।

कुलमानले सामाजिक सञ्जालमार्फत आफू मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली भेट्न जान लागेको बताएका छन्।

मध्यपूर्वी देशहरूमा रहेका नेपालीलाई सम्बोधन गर्दै उनले अनुभवहरु साटासाट गर्न ती देशमा आउन लागेको खुलाएका छन्।

‘विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरुलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु’ उनले लेखेका छन्, ‘अहिले बहराइन, ओमान, युएई र कतारमा रहनु भएका तपाईंहरुको जीवन, संघर्ष र सपना बुझ्ने तथा मेरा अनुभवहरु साटासाट गर्ने प्रयासस्वरूप म यो भ्रमणमा निस्किएको हुँ।’

कुलमानका अनुसार बहराइनमा जुलाई २ देखि ४, युएईमा जुलाई ५ देखि ८, ओमानमा जुलाई ९ देखि १० र कतारमा जुलाई ११ देखि १३ सम्म भेटघाट गर्नेछन्।

राजनीतिज्ञकै स्टाइलमा कुलमान अगाडि लेख्छन्, ‘तपाईंहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न सकिन्न। म तपाईंहरूसँग प्रत्यक्ष भेटेर भोगाइ सुन्‍न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन चाहन्छु। तपाईंहरूले जे सहनु भएको छ, त्यसमा हामी सबैको जिम्मेवारी छ भन्ने भावनासहित तपाईंहरू सामु आउँदैछु।’

देशले तपाईंहरूलाई सम्झिएको छ भन्दै उनले थपेका छन्, ‘तपाईंहरूको अभावमा पनि तपाईंहरूका घर, परिवार र देश तपाईंप्रति गर्व गर्छन्। जहाँ हुनुहुन्छ, सुरक्षित, अनुशासित र सकारात्मक रहनुहोस्। तपाईंहरूको माया, प्रेम, विश्वास, सुझाव र साथ सधैं अमूल्य रहनेछ।’

लोडसेडिङ हटाएर नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लगेपछि कुलमानको चौतर्फी वाहवाही भएको थियो।

गएको चैतमा सरकारले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। पदावधि चार महिनामात्रै बाँकी हुँदा कुलमानलाई सरकारले हटाएको हो। 

सरकारले पदबाट हटाएपछि कुलमानप्रति आम मानिसमा थप सहानुभूति बढेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad