सांसद तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले भ्रष्टाचार मुद्दा लागेका आफ्ना पूर्वनेता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नेतृत्व नछाडेर नैतिकहीन काम गरेको टिप्पणी गरेका छन्।
एमाले फुटाएको रिस पनि पोख्दै थापाले मंगलबार बिहान फेसबुकमा लामै स्टाटस लेखेर पूर्वप्रधानमन्त्री नेपालको उछितो काढेका छन्।
यस क्रममा उनले एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको अभिव्यक्ति पनि उद्धृत गरेका छन्।
‘आज उहाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ। जब अख्तियारले सार्वजनिक लेखा समितिको सिफारिस र लामो अनुसन्धानपछि मुद्दा नै दायर गरिसक्यो, उहाँले आफ्नो पार्टी र दलको नेतृत्वमा नरहेको घोषणाका साथ कथं अदालतबाट सफाइ पाएँ भने पुन: नेतृत्वमा फिर्ता हुँला भनेर भन्नुहोला भन्ने लागेको थियो’, एमाले नेता थापाले लेखेका छन्, ‘तर आफ्नै स्थायी कमिटी सदस्यले ‘सिनो’ बोकेर हुन्न भनिसक्दा पनि नैतिकताको सामान्य अनुभूति गरेर मुद्दा खेपिरहेका बखत दल र पार्टीको नेतृत्व छाड्ने घोषणा गर्न अनिच्छुक देखिनु भनेको एउटा भयानक स्खलन र पतन नै हो। पार्टीभित्रबाट राजीनामा दिन बोल्ने/ लेख्नेहरूको मुख बन्द गर्न/थुन्न महासचिव घनश्यामले सर्कुलर नै जारी गर्नुभएको रमिता पनि भानुभक्त आचार्यको यसै ‘अलकापुरी कान्तिपुरी नगरी’मा पो देख्नुपरेको छ।’
यस क्रममा थापाले एमालेमा रहँदा नेपालसँग भए/गरेका प्रसंग पनि उल्लेख गरेका छन्।
बाँकी कुरा उनकै स्टाटसमा पढ्नुहोला:
फरक-फरक समय र ठाउँको नैतिकता-
नेकपा(एमाले) को महासचिव हुँदा २०६४ को चुनावमा दुई ठाउँबाट पराजित माधवकुमार नेपालको नैतिकताको खाँडो एकाएक जाग्यो र राजिनामा दिनुभएको थियो। जबकि त्यतिबेला उहाँले राजिनामा दिन जरूरी थिएन। धेरै नेता,कार्यकर्ता र हामीले उहाँलाई राजिनामा दिनु गलत गर्नुभयो भनेकै थियौं।
उहाँले आफ्नो सिंगो जीवन लगाएर निर्माण गरेको पार्टी फुटाउने अपराध गर्नुहोला भन्ने मैले कल्पना पनि गरेको थिइनँ। तर व्यक्तिगत मान, सम्मान र अपमानको दुहाई दिएर पुष्पकमल दाहालको भाउँतामा लाग्दै पार्टी फुटाउने ऐतिहासिक भूल गर्दै कलंकको टीका लगाउनुभयो। उहाँ भ्रष्टाचारको मुद्दामा डामिएर धरौटीमा तारिख धाउने दिन आउला भन्ने पनि मैले सोच्नसम्म नसकेको विषय थियो। यसमा पनि उहाँ पहिलो प्रधानमन्त्री बन्ने कीर्तिमान कायम गर्न पो पुग्नुभयो। ललिता निवास, धोवीखोला, इटहरी, विराटनगर र काभ्रे (पतञ्जलि) का जग्गा प्रकरण एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन्, किन र कसरी यस्तो भएको हो? उहाँलाई नै थाहा होला।
‘रिसले आफू खा, बुद्धिले शत्रु खा’ भन्छन्। उहाँ खासमा आफ्नो रिसको माखेसाङ्लोमा नराम्ररी पर्नुभएको छ।
राजनीतिमा सधैँ एक ठाउँमा नहुन पनि सकिन्छ। उहाँलाई विद्यादेवी भण्डारी पहिलोपटक राष्ट्रपति बन्नुहुँदा पार्टी अध्यक्षले राष्ट्रपति बन्न भन्नुभएकै थियो, तर उमेर छ मेरो भनेर अस्वीकार गर्नुभयो। पछि रामचन्द्र पौडेललाई नभएर एमालेले उहाँलाई राष्ट्रपति बन्न भन्यो र मा. किसान श्रेष्ठको निवासमा अध्यक्ष केपी शर्मा ओलीले भेटेर पनि प्रस्ताव राख्नुभयो। तर उहाँ बालुवाटार पुगेर ‘म केपीको षडयन्त्रको जालमा नपरी आएँ’ भनेर रामचन्द्रकै लागि बनबास लाग्ने घोषणा गर्न पुग्नुभयो।
उहाँले एमालेले सहमति गरे पनि मलगायतका सांसदहरूले भोटै नदिएर हराउने आशंका आफ्ना विश्वासपात्रहरूमाझ बहानाबाजीको लागि राख्नुभएको भन्ने सुनेपछि मैले उहाँका अत्यन्त निकटएकजना केन्द्रीय सदस्यलाई बोलाएरै भेटी ढुक्क हुनको लागि सन्देश पनि पठाएको थिएँ। किनभने म रामचन्द्र पौडेल नभएर वाम राष्ट्रपति हुनुपर्छ भन्ने मान्यतामा थिएँ। हामीजस्ता व्यक्तिको मान्यताविपरीत उहाँ विपरीत दिशामा उभिनुभयो।
आज उहाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ। जब अख्तियारले सार्वजनिक लेखा समितिको सिफारिस र लामो अनुसन्धानपछि मुद्दा नै दायर गरिसक्यो, उहाँले आफ्नो पार्टी र दलको नेतृत्वमा नरहेको घोषणाका साथ कथं अदालतबाट सफाइ पाएँ भने पुन: नेतृत्वमा फिर्ता हुँला भनेर भन्नुहोला भन्ने लागेको थियो।
तर आफ्नै स्थायी कमिटी सदस्यले ‘सिनो’ बोकेर हुन्न भनिसक्दा पनि नैतिकताको सामान्य अनुभूति गरेर मुद्दा खेपिरहेका बखत दल र पार्टीको नेतृत्व छाड्ने घोषणा गर्न अनिच्छुक देखिनु भनेको एउटा भयानक स्खलन र पतन नै हो। पार्टीभित्रबाट राजीनामा दिन बोल्ने/ लेख्नेहरूको मुख बन्द गर्न/थुन्न महासचिव घनश्यामले सर्कुलर नै जारी गर्नुभएको रमिता पनि भानुभक्त आचार्यको यसै ‘अलकापुरी कान्तिपुरी नगरी’मा पो देख्नुपरेको छ।
अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि पनि पदमा टाँसिरहनु नैतिकहराम कार्य हो। यो अरूलाई सिकाउने र आफूले चाहिँ मनपरी गर्ने द्वेध चरित्रको प्रदर्शन पनि हो। जीवनको उत्तरार्धमा आइपुग्दा कस्तो देखिने/सुनिने र लेखिने उहाँलगायत सम्बन्धित व्यक्तिहरूले नै स्वघोषणा गर्नु उचित हुन्छ होला। पार्टी फुटाएर बनाएको सानो टुक्राको मुखिया भइरहने/रहिरहने पदलोलुपताले नैतिकताको यसरी हुर्मत लिएको दृश्य/परिदृश्य भने ज्यादै अशोभनीय र मजाकपूर्ण भएको छ।
Shares

प्रतिक्रिया