नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले शनिबार लुम्बिनीमा अध्यक्ष माधव नेपालविरुद्ध दिएको अभिव्यक्तिले पार्टीभित्र हलचल मच्चिएको छ।
एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा जिल्ला भेलालाई शनिबार तिलोत्तमामा सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष नेपाल संकटमा परेकाले पार्टी पुनगर्ठन गर्न माग गरेकी हुन्।

जसको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
‘तपाईंहरू सबैलाई थाहा छ- पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो’, उनले भनेकी छन्, ‘संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौँ। कसरी गर्ने? अर्ली महाधिवेशन गरौं। अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ।’
उनले अगाडि भनेकी छन्, ‘कहाँ हुन्छ यसरी? म त भन्छु- अब अर्ली महाधिवेशन गरौँ। कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो। अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन? अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ।’
भिडिओ
कुनै समय अध्यक्ष नेपालको नजिकको नेता मानिने झाँक्रीले अहिले एकाएक कडा अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीभित्र खैलाबैला भएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणमा यही असार ११ गते मात्र विशेष अदालतमा ३५ धरौटी बुझाएका थिए।
पतञ्जलि जग्गा घोटाला काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले असार ११ गते पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।
त्यस दिन अध्यक्ष नेपाल पार्टीमा कसैलाई कार्यवाहककाे जिम्मेवारी नदिई विशेष अदालतमा बयान दिन गएका थिए। भ्रष्टाचार मुद्दा लागेपछि उनको सांसद पद भने निलम्बन भइसकेको छ।
Shares

प्रतिक्रिया