नेकपा (एकीकृत समाजवादी)ले पार्टी अध्यक्ष माधवकुमार नेपालका बारेमा नबोल्न, नलेख्न निर्देशन दिएको छ। पार्टीका महासचिव घनश्याम भुसालले पार्टीको आधिकारिक धारणासँग बाँझिने गरी नबोल्न निर्देशन दिएका हुन्।
पार्टी नेतृ रामकुमारी झाँक्रीले शनिबार पार्टीनिकट युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा जिल्ला भेलालाई तिलोत्तमामा सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष नेपाल संकटमा परेकाले पार्टी पुनगर्ठन गर्न माग गरेकी थिइन्।
‘तपाईंहरू सबैलाई थाहा छ- पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो’, उनले भनेकी थिइन्, ‘संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौँ। कसरी गर्ने? अर्ली महाधिवेशन गरौं। अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ।’
एकीकृत समाजवादीमा तरंग ल्याउने गरी रामकुमारी झाँक्रीले माधव नेपालबारे बोलेको कुरा
त्यसपछि महासचिव भुसालले पार्टीको धारणासँग बाझिने अभिव्यक्ति नदिन निर्देशन दिएका हुन्।
'पार्टीको आधिकारिक धारणासँग बाँझिने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ,' भुसालले भनेका छन्, 'पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न तथा कुनै पनि बहानामा सार्वजनिक वाद–प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ।'
अध्यक्ष नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका विषयमा जेठ २२ गते प्रेस विज्ञप्तिमार्फत पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिएको समेत जनाएका छन्।
पतञ्जली जग्गा प्रकरणमा मुद्दा दायर भएपछि नेपालको सांसद पद निलम्बन भएको छ। उनलाई विशेष अदालतले ३५ लाख धरौटीमा छाडेको हो।

Shares

प्रतिक्रिया