सेयरबजारका लगानीकर्ताले ११ महिनामा सरकारलाई १५ अर्ब रुपैयाँबराबरको राजस्व तिरेका छन्।
लगानीकर्ताले जेठ मसान्तसम्म सरकारलाई पुँजीगत लाभकर शीर्षकमा कुल १५ अर्ब २७ करोड २४ लाख रुपैयाँ राजस्व तिरेका हुन्।
राफसाफको जिम्मा पाएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार जेठ महिनामा मात्रै लगानीकर्ताले सरकारलाई १ अर्ब १७ करोड रुपैयाँ राजस्व बुझाएका थिए।
यो वैशाख महिनाको तुलनामा कम हो। वैशाखमा १ अर्ब २२ करोड रुपैयाँ राजस्व तिरेका लगानीकर्ताले समग्रमा भने यो वर्ष १५ अर्बबराबरको राजस्व सरकारलाई तिरेका हुन्।
गत आर्थिक वर्षमा लगानीकर्ताले ५ अर्ब ५० करोड रुपैयाँ मात्रै राजस्व बुझाएका थिए। चालू आवको ११ महिनामा नै यस्तो राजस्व १ सय ७७ प्रतिशतले बढेको हो।
लगानीकर्ताबाट हुने राजस्व संकलन जेठ र असारमा विशेष बढ्ने गर्छ। यसर्थ चालू आवको बाँकी एक महिनामा यस्तो राजस्व थप हुने देखिन्छ।
चालू आवको उठ्ने राजस्व गएको ४ वर्षयताकै धेरै हुनेछ। आर्थिक वर्ष २०७७÷७८ मा लगानीकर्ताले १४ अर्ब ३१ करोडबराबरको पुँजीगत लाभकर तिरेका थिए भने आव २०७८÷७९ मा १० अर्ब ३५ करोड रुपैयाँ तिरेका थिए। गत वर्ष पनि लगानीकर्ताले सरकारलाई ५ अर्ब ५० करोड रुपैयाँबराबरको राजस्व तिरेका थिए।
२०७८ भदौमा नेप्सेले ३२ सय अंक भेटाउँदै गर्दा लगानीकर्ताले कारोबार पनि २२ अर्बमाथि गरेका थिए। कारोबार रकम र नाफा दुवै बढाएसँगै सरकारले राजस्व संकलन पनि बढाएको थियो। तर त्यसयताका वर्षहरुमा सूचक र कारोबार दुवै खस्किँदै आएका कारण लगानीकर्ताले तिर्ने राजस्वमा पनि गिरावट आएको थियो।
चालू आवमा भने यस्तो राजस्व बढेको छ। सूचकमा ठूलो उतारचढाव नआए पनि लगानीकर्ताले साइडवेजकै बजारमा आम्दानी गरिरहेको देखिन्छ।
सेयरबजारमा कारोबार गर्ने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले सेयर कारोबारमा लाभ प्राप्त गरेपछि सोबापतको सरकारलाई तिर्नुपर्ने रकम नै पुँजीगत लाभकर हो। यस्तो लाभकर लगानीकर्ताले सेयर कारोबार गर्दा तिर्नुपर्ने हुन्छ।
चालू आवमा लागनीकर्ताले सरकारलाई तिरेको राजस्वका आधारमा पनि लगानीकर्ताले साइवेजमा गएको बजारमा पनि आम्दानी गरेको देखिएको हो। हाल सेयरबजारबाट नाफा गरेबापत अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर सरकारलाई तिर्दै आएका छन्।
हाल सेयरबजारमा ६८ लाख ५३ हजार व्यक्तिको डिम्याट खाता छ भने ५९ लाख १७ हजारले मेरो सेयर प्रयोग गरिरहेका छन् । जसमा ४१ लाख ३१ हजारले भने दोस्रो बजारमा सक्रिय रुपमा कारोबार गरिरहेका छन् ।
Shares

प्रतिक्रिया