राजनीति


संसद्‌मा रामहरि र डीपी अर्यालबीच नोकझोक

संसद्‌मा रामहरि र डीपी अर्यालबीच नोकझोक

नेपालखबर
असार १५, २०८२ आइतबार १५:७, काठमाडौँ

प्रतिनिधिसभाको आइतबारको बैठकमा भिजिट भिसा प्रकरणको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच भनाभन भएको छ। खतिवडाले सदनमै आफूमाथि गम्भीर आरोप लगाएको भन्दै अर्यालले सभामुखसमक्ष खतिवडाको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन भनेका थिए। 

'हामीले कस्तो समाज निर्माण गरेछौं ? काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्छ। ३३ दिनदेखि भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलनमा छौं,' उनले भने, 'संसदीय समिति वा उच्चस्तरीय आयोगको माग विषयान्तर गर्ने गरी हिजो यही सदनमा हामीमाथि निराधार आरोप लगाउने कोशिस गरियो। राजनीतिलाई पेशा बनाएर देश दोहन गर्नेहरूले आफ्नो पेसा-व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन्।'

त्यस्तै उनले आफ्नो कम्पनी सुमिरे टुर्स एन्ड ट्राभल्सको नाम अनावश्यक जोडिएको भन्दै आपत्ति जनाए। 
'२०४८ सालतिर मन्त्रीको पीए बसेर सरकारी कागजात किर्ते गरेर मान्छे विदेश पठाएवापत हनुमानढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू यही संसदमा छन्। अरुलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफैँ टाप कस्लान्। हो म गर्वका साथ भन्छु- सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो। म यही देशमा केही गरेर खाने मान्छे हो, चोरेर खाने मान्छे होइन,' उनले भने, 'मेरो समय ठिकै चलेको छ, अरुको घडीको समय बिग्रेको छ भने म के भनौं। हामीले पैसा लिएका छौं र फर्केका छैनन् भने प्रमाण पेस गर्न चुनौती दिन्छु। होइन भने निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ भन्ने सभामुखज्यूसमक्ष रुलिङ माग गर्छु।'

अर्यालले बोलिरहँदा खतिवडाले उठेर सभामुखसँग समय माग गरे। त्यसपछि समय पाएका खतिवडाले भने- चोरको खुट्टा काट् भन्दा माननीयहरू खुट्टा झिक्नुहुन्छ। हामीले कसैको पनि नाम लिएका थिएनौं। हामीले निष्पक्ष छानबिन गर्नुपर्छ मात्र भनेका थियौं। यस्ता कुरा रेकर्डबाट हटाउनका लागि भनेर भर्खरै बोलेका शब्द रेकर्डबाट हटाइयोस्।'

सभामुख घिमिरेले खतिवडालाई जिम्मेवारीका साथ बोल्न सम्झाए।  'माननीयज्यूहरूले आफूले बोलेको विषयमा जिम्मेवारीसाथ बोल्नुपर्छ र त्यसप्रति जवाफदेही हुनुपर्छ। गैरसंसदीय भाषा, एक अर्कालाई आरोप लान्छाना लगाउने र नाम किटेर भन्ने कुरालाई सामान्यतया रेकर्डबाट हटाउने नियमावली र परम्परा छन्,' उनले भने, 'यसको मतलब प्रत्येक कुरा सभामुखलाई देखाएर आफूले बोलेका कुराको छिनोफानो गराउनु उचित हुन्छ कि हुँदैन ? प्रत्येक सदस्यले आफूले बोलेको कुरा जिम्मेवारीसाथ प्रमाणित हुने गरी बोल्नुहुने विश्वास लिन्छु। जनप्रतिनिधिले त्यही विश्वासका साथ राख्न अनुरोध छ।'

अर्यालको अभिव्यक्तिप्रति कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि आपत्ति जनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad