मोरङको धनपालथान गाउँपालिका–५, बबियामा शनिबार बिहान मृत फेला परेकी पाँच वर्षीया बालिकाका काकाविरुद्ध किटानी जाहेरी परेको छ।
बालिकाको हत्यामा उनकै काका अनिश सरदार संलग्न भएको भन्दै मृतक बालिकाका मावली हजुरबुबाले किटानी जाहेरी दर्ता गराएका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालले जानकारी दिइन्।
बालिका आत्तिका सरदारको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। शुक्रबार राति हजुरआमा र काकासँग सुतेकी बालिका बिहान बेपत्ता भएकी थिइन्।
गाउँभर बच्चा चोरी भएको हल्ला फैलिएपछि छरछिमेकले खोजी गर्दै जाने क्रममा बालिकाको शव घरदेखि करिब १५० मिटर टाढा दुर्गा आधारभूत विद्यालयअगाडि सडक छेउमा फेला परेको थियो।
मृतक बालिकाका बुबा अक्षय सरदार सालोसँग भारतको कटिहार गएका थिए भने आमा माइतीघर गएकी थिइन्। घरमा मृतक बालिका सहित उनका दुई दिदी भाइ र हजुरआमा मात्रै थिए।
बालिकाका काका अनिश सरदारलाई प्रहरीले शनिबार नै नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान थालेको छ। डिएसपी चुडालले घटना संवेदनशील रहेकोले धेरै विषय सार्वजनिक गर्न नमिल्ने बताइन्। बालिकाको हत्या भएको हो तर के कारणले हत्या भएको हो भन्ने बारेमा पोस्टमार्टम रिपोर्टपछि मात्रै थप भन्न सकिने उनले बताइन्।
Shares

प्रतिक्रिया