राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबाट फुत्किन सजिलो हुने गरी छानबिन समिति गठन गराएको आरोप लगाएकी छन्।
शनिबार प्रतिनिधिसभको बैठकमा सांसद कार्कीले केही दिनअघि सरकारले शंकरदास वैरागी नेतृत्वमा गठन गरेको समितिले गृहमन्त्री लेखकलाई छुटकारा दिने दाबी गरेकी हुन्।
‘मैले त गृहमन्त्रीज्यूलाई सोझोसाझो ठानेको थिएँ। उहाँ त चम्फु बाठो हुनुहुँदो रहेछ,’ सांसद कार्कीले भनिन्, ‘उहाँले त यस्तो समिति बनाउनुभयो कि त्यो समितिबाट उहाँलाई त फुत्किन धेरै सजिलो भयो। र, कमाइ बचाउन पनि धेरै सजिलो भयो।’
उनले गृहमन्त्री लेखकलाई धेरै फूर्ति नदेखाउन पनि चेतावनी दिइन्।
‘गृहमन्त्रीज्यू धेरै फुर्ती नदेखाउनुस्। किनभने त्यो एक दिन यस्तो समय आउँछ, तपाईं पनि त्यो पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ,’ कार्कीले भनिन्, ‘त्यतिखेर नेपाली जनतालाई के जवाफ दिनुहुन्छ?’
सांसद कार्कीले गृहमन्त्री लेखकले नेपाली जनता बेचेर प्रतिदिन ५० लाखदेखि एक करोडका दरले असुली गरेको आरोप पनि लगाइन्।
‘तपाईंले भिजिट भिसाको नाममा जुन दैनिक ५० लाखदेखि एक करोडसम्म असुली गर्नुभएको छ,’ उनले भनिन्, ‘नेपाली जनतालाई बेच्नुभएको छ।’
राप्रपा सांसद कार्कीले गृहमन्त्री लेखकलाई नैतिकता देखाएर राजीनामा दिन आग्रह पनि गरिन्।
उनले भनिन्, ‘गृहमन्त्रीज्यू तपाईंसँग नैतिकता छ भने राजीनामा गर्नुस्। र, छानबिनलाई सघाउ पुर्याउनुस्।’
भिडिओ-
Shares

प्रतिक्रिया