संसदीय सुनुवाइ समितिले शुक्रबार सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरीकर्ताहरूसँग छलफल गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरूसँग छलफल गरेको हो।
बैठकमा उजुरीकर्ता मनोजकुमार क्षेत्रले प्रस्तावित न्यायाधीश पोखरेलले सार्वजनिक बाटो मास्न किर्ते कागजात तयार पारेको आरोप लगाए। उजुरीकर्ता श्रेष्ठले पोखरेलकै प्रभावमा उक्त कागजात किर्ते नरहेको जिल्ला अदालत काठमाडौँले ठहर गरेको दाबी समेत गरे।
उनले उक्त विषयमा नेपाल कानुन व्यवसायी परिषद्मा उजुरी गरेकोमा क्षेत्राधिकार नरहेको भन्दै आफूलाई सम्बोधन गरेर पत्र लेखेको बताए।
प्रस्तावित न्यायाधीश शान्तिसिंह थापाविरुद्ध उजुरीकर्ताले जिल्ला अदालत बाँकेका एक कर्मचारीले गलत आशय र आचारणले मुद्दा लगाई फसाउने उद्देश्य राखेकाले कारबाहीका लागि निवेदन गरेकोमा थापाले प्रक्रिया अघि नबढाएको आरोप उजुरीमा लगाएका छन्।
आरती रावलले उच्च अदालत दिपालयको मुख्य न्यायाधीश रहँदा आफ्नो गुनासो सम्बोधन गर्नुको सट्टा सत्ता र शक्तिको दुरुपयोग गरी आफूलाई २५ दिन हिरासतमा राखेको आरोप लगाइन्।
उनले भनिन्, ‘शान्तिसिंह थापाविरुद्ध मैले उजुरी हालेको छु। २०७९ तिर ममाथि किर्ते कागजको मुद्दा हाल्नु भएको थियो। उतिबेला म न्यायाधीश भुवन गिरीबाट अन्यायमा परेँ भनेर सर्वोच्चमा गएको बेलामा उहाँले मेरो आवाज बन्द गर्नको लागि मेरो विरुद्धमा एउटा कागज किर्ते गरेको भनेर सत्ता र शक्तिको प्रयोग गरी मलाई २५ दिन हिरासतमा बसाउनु भयो। मैले अहिले पूर्ण रुपमा सफाई पनि पाइसकेको छु।’
प्रस्तावित न्यायाधीश पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई/दुई वटा उजुरी परेको थियो भने अर्का प्रस्तावित न्यायाधीश थापाविरुद्ध एउटा उजुरी परेको थियो। उजुरीकर्तासँगको छलफल सकिएसँगै समितिले अगामी आइतवार सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ।
Shares

प्रतिक्रिया