सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस महेन्द्रनगरको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा भारतीय संस्था एक्सपोरा रिसर्च एसोसिएसन, झारखण्डको सहकार्यमा असार १३ र १४ गते दुई दिने सम्मेलन हुन लागेको हो।
विश्वविद्यालय, केन्द्रीय क्याम्पसको आयोजनामा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय कार्यक्रमको बारेमा मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ।
‘गुणस्तरीय शिक्षा र दिगो विकासमा उदयमान अनुसन्धान प्रवृत्ति र नवपवर्तनहरूको बहुविधागत अनुसन्धान’ शीर्षक सम्मेलन केन्द्रित हुनेछ।
नेपाल, भारत, अमेरिका, बेलायत र डेनमार्क लगायतका देशहरूबाट २५० जना शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ता सहभागी हुनेछन्।
सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सुदूरपश्चिम विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्मेनलन कन्वेनर तथा डा. मदन सिंह देउवाले बताए।
अनुसन्धान, नवप्रवर्तन र अन्तरदेशीय ज्ञान आदानप्रदानलाई प्रोत्साहित गर्ने उद्देश्यले यस्तो सम्मेलन आयोजना गरिएको उनले बताए।
कार्यक्रममा विज्ञान तथा प्रविधि, मानविकी, व्यवस्थापन लगायतका संकायहरूमार्फत विभिन्न अनुसन्धानपत्रहरू प्रस्तुत गरिने छन्। सम्मेलनले गुणस्तरीय शिक्षा र अनुसन्धान प्रवद्र्धनमा सुदूरपश्चिम विश्वविद्यालयको भूमिका थप सशक्त बनाउने विश्वास गरिएको छ।
सम्मेलनमार्फत शिक्षालयबीच अन्तर्राष्ट्रिय सहकार्यका नयाँ आयाम खुल्ने र सुदूरपश्चिम क्षेत्रकै शैक्षिक पहिचान स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया