प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा देखापरेका व्यवहारिक कमजोरीहरू सच्याउन संविधान संशोधनको प्रस्ताव अघि सारेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ बनाउने गरी संविधान संशोधन आवश्यक भएको भन्दै प्रश्ताव अघि सारेका हुन्।
उनले लोकतान्त्रिक प्रणालीलाई थप प्रभावकारी बनाउन, विकासको गतिलाई तिब्रता दिनेगरी र मुलुकलाई एकतावद्ध बनाउने लक्ष्यसहित संविधान संशोधन गर्न आवश्यक रहेको पनि बताए।
उनले संविधान संशोधनले लोकतन्त्र र संस्थागत प्रणालीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले भने, ‘संविधान कार्यान्वयनको क्रममा व्यवहारमा देखिएका केही कमजोरी छन् भने यस प्रणालीलाई र लोकतन्त्रलाई मजबुत बनाउनेगरी संशोधन गरौँ। विकासलाई अगाडि बढाउनेगरी, देशलाई अगाडि बढाउनेगरी, देशलाई एकतावद्ध बनाउनेगरी संशोधन गरौँ। तर मनोवैज्ञानिक ढंगले देशलाई विभाजित गर्नेगरी होइन। राष्ट्रिय एकता कायम गर्नेगरी, लोकतन्त्रलाई मजबुत बनाउनेगरी संविधानलाई संंशोधन गर्न जरुरी छ। हामीले अपनाएको प्रणालीलाई थप प्रधावकारी कार्यान्वयन हुनेगरी संविधान संशोधन गरौँ।’
उनले लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्दै आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने टिप्पणी समेत गरे।
Shares

प्रतिक्रिया