विद्युतीय सवारी कम्पनी एलएस अटोले त्रिभुवन विमानस्थलको कार्गो टर्मिनलअगाडि चार्जिङ स्टेसनसहितको शोरुम सञ्चालनमा ल्याएको छ।
मंगलबार एक कार्यक्रम गरी कम्पनीले नयाँ शोरुमको उद्घाटन गरेको हो।
काठमाडौंकै कालोपुलमा सर्भिस सेन्टर समेत कम्पनीले स्थापना गरिसकेको छ।
शोरुममा चिनियाँ कम्पनी एलएस अटोको पहिलो मोडल एलईभी ०१ क्रसओभर इलेक्ट्रिक राखिएको छ भने आगामी नाइमा अटो शोमा थप दुई मोडलहरु एलईभी एक्स र एलईभी ०५ सार्वजनिक भएपछि शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ।
एलईभी ०१ सीई/एसई स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा छ। ६७.१२ किलोवाट आवरको ब्याट्री प्याकयुक्त यो ईभीमा ९९ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर छ। यसले ३०० न्युटन मिटरको टर्क उत्पादन गर्छ।

२१० एमएम ग्राउन्ड क्लियरेन्स र ५०० किमिसम्मको रेन्ज रहेको गाडी नेपाली बाटो सुहाउँदो रहेको कम्पनीले उल्लेख गरेको छ।
त्यसैगरी एलएस अटोको दोस्रो मोडल एलईभी ०५ मा १७ इन्चको अलोय ह्विल, १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहने कम्पनीले उल्लेख गरेको छ। यसलाई कम्पनीले ५० किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटरमा ल्याउने जनाएको छ। यसको अधिकतम टर्क १८० न्युटन मिटर छ। सबैभन्दा ठूलो ब्याट्रीप्याकयुक्त यो गाडीमा ५६ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ। यसले सिंगल चार्जमा ४०० किमि बढी रेन्ज दिने र ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।
त्यसैगरी तेस्रो मोडल एलईभी एक्स क्रसओभर एसयूभी डिजाइनमा आउँदै छ। यो नेपालमा बिक्री भइरहेको एलईभी ०१ को फोरह्विल ड्राइभ भर्सन हो। यसमा केही फिचर थप भएर आउने कम्पनीले उल्लेख गरेको छ। जसअनुसार फ्रन्ट र रियर गरी २०० किलोवाटको मोटर रहने गाडीमा ७७ किलोवाट आवरको ठूलो साइजको ब्याट्रीप्याक रहनेछ। एलईभी एक्सको ड्यासबोर्डमा नयाँ डिजाइनको एसी भेन्ट आएको छ। यसको फ्रन्टमा हाइड्रोलिक बोनेट र थप लगेज स्टोरेजको लागि फ्रंग्स समेत थपिएको कम्पनीले जनाएको छ।

प्रिमियर डिजाइन एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन छ। लेदरेट स्टेरिङ ह्विल तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टिकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्ट्रुमेन्टल क्लस्टर, प्यानोरामिक सनरुफ, इलेक्ट्रिक टेलगेट, मल्टिड्राइभ मोडजस्ता सुविधा समेत छन्। सुरक्षाका लागि यो ईभीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्राक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रुज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधा रहेका छन्।
यो गाडीको खरिदमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ।
त्यसैगरी नेक्सन भेन्चरले न्यु शोरुम उद्घाटनको अफर भनेर स्ट्यान्डर्ड एडिसन (एसई)को मूल्य ५९ लाख ९५ हजार तथा कम्फर्ट एडिसनको मूल्य ६४ लाख ९५ हजार रुपैयाँ तोकेको छ। अब भित्रिन लागेका अन्य दुई मोडलको मूल्य भने नाइमा अटो शोमै प्रकाशित गरिने भएको छ।








Shares

प्रतिक्रिया