नेकपा एमाले सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजकतालाई मलजल गर्नेगरी असंसदीय काम गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको, सिंगो संसद्को गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
‘भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको, सिंगो संसदको र सम्पूर्ण न्यायप्रेमीहरूको गम्भीर ध्यानाकर्षण भएकै छ। भिजिट भिसा प्रकरणमा जुन रुपमा नेपालीहरू ठगिएको, नेपालीहरूले त्यहाँ सास्ती पाएको, त्यसको माध्यमबाट धेरै सम्पत्ति गुमाएको भन्ने छ,' उनले भने, 'कुनै दोषी व्यक्तिहरू उम्किन नपाओस्। निर्दोष व्यक्तिहरूले लाञ्छित हुनु नपर्ने स्थितिको निर्माण होस्। अहिले संसद् बहिष्कार गरेर जानुभएका माननीयज्युहरूले बुझ्नुभएन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गरेको छानविन प्रक्रियालाई कुनै असर नपर्नेगरी अख्तियार दुरुपयोग अनुसन्धन आयोगले स्पष्टतापूर्वक छानबिन गरिरहेको छ। त्यसमा नेपाल सरकारले सहयोग गरिरहेको छ भन्नेकुरा पनि त्यो वक्तव्यबाट स्पष्ट हुन्छ। आगामी दिनमा थप व्यवस्थित गर्ने, आगामी दिनमा यस्ता काम नदोहोरिनका लागि काम गर्नुपर्छ। देशमा निराशा फैल्याउने प्रवृत्तिलाई मलजल गर्ने गरी यो काम भएको छ।’
Shares

प्रतिक्रिया