हिमालय एयरलाइन्सले सोमबारको रद्द दोहा उडान भोलि मात्रै गर्ने भएको छ।
काठमाडौं–दोहा–काठमाडौं उडान भोलि बिहान ७ः५५ बजेलाई सारिएको हो।
कम्पनीले सोहीअनुसार सूचित हुन सम्बन्धित यात्रुहरुलाई सूचना जारी गरेको छ।
२३ जुनमा तय भएको हिमालयको उडान इरान र इजरायलबीचको तनावको मध्यपूर्वका अन्य देशहरुमा फैलिएपछि भोलिका लागि ‘रि–स्केजुल’ गरिएको हो।
नयाँ तालिकाअनुसार हिमालयको जहाज काठमाडौंबाट भोलि बिहान ७ः५५ मा उड्नेछ भने स्थानीय समयअनुसार १० बजे कतारको राजधानी दोहा पुग्नेछ। त्यसपछि ११ बजे पुनः दोहाबाट काठमाडौंका लागि उड्नेछ। नेपालमा बेलुकी ६ः१५ मा आइपुग्ने कम्पनीले जनाएको छ।
कम्पनीले यात्रुहरुलाई ३ घण्टाअगाडि नै विमानस्थल आउन अनुरोध गरेको छ।
अमेरिकाले आफ्ना तीन आणविक केन्द्रहरुमा बंकरभेदी बमबारी गरेपछि इरानले सोमबार राति बदलास्वरुप कतारमा रहेको अमेरिकी एयरबेसमा क्षेप्यास्त्र आक्रमण गरेको थियो। सोसँगै मध्यपूर्वी देशलाई गन्तव्य बनाएका उडानहरु प्रभावित भएका थिए।
नेपाल एयरलाइन्सको जहाज समेत सोमबार मस्कट (ओमान) डाइभर्ट भएको थियो भने गएरातिका लागि तय उडान रद्द भई आज दोहा उड्ने तरखरमा छ।

Shares

प्रतिक्रिया