राजनीति


‘संसदमा म’मा एलपी साँवा : भाइरल हुन सांसदले जे पनि बोल्न थाले, यो स्टन्ट गर्ने ठाउँ होइन (भिडिओ)


अनिल यादव
असार १० , काठमाडौँ

२०३६ सालतिर नेपालमा बहुदल र निर्दलबीचको चुनावी प्रचार चलिरहेको थियो। टोलभरिका ठूलाबडाले निलो र पहेँलो रङको कुरा गरिरहेका थिए। त्यतिबेला एलपी साँवा लिम्बू १२ वर्षका थिए। राजनीति के हो, उनले बुझ्ने कुरै भएन। 

लिम्बूलाई आज सम्झिँदा लाग्छ– निलो रङतिरको त्यो ‘दौड’ नै उनको राजनीतिक यात्राको पहिलो पाइला रहेछ। 

‘केही थाहै नपाई म चाहिँ निलो रङतिर दौडिएछु, मान्छेहरूले यो त निलोतिर कुद्दैछ, यो त प्रगतिशील पो रहेछ भने,’ नेपालखबर विशेष भेन्चर ‘संसदमा म’मा आफ्नो अनुभूति बाँड्दै लिम्बूले आफ्नो राजनीतिक प्रवेशको पृष्ठभूमि सम्झिए। 

लिम्बू अहिले झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य। दोस्रो कार्यकालका सांसद। तर, यो यात्रा उनले योजनाबद्ध रूपमा थालेका थिएनन्। 

लिम्बूलाई त्यसपछि अनेरास्ववियुमा संगठित गराउने व्यक्ति थिए, झापा समन्वय समितिका वर्तमान संयोजक विश्व बराल। अनि अर्का नेता दीनानाथ गौतम। त्यतिखेर एमाले थिएन, नेकपा माले थियो, त्यहीँबाट लिम्बू पार्टीको काममा पनि सक्रिय भए। 

साँवा ०४३ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति भए, काठमाडौं पढ्न आएपछि पनि संगठनमै लागिरहे। त्यतिबेला उनी जागिर खाएर जीवन बिताउने सपना देख्दैनथे। 

‘वैदेशिक रोजगारीमा गएका युवालाई सीप सिकाएर, प्रशिक्षण दिएर पठाउनुपर्छ,’ भन्ने सोचले उनले काठमाडौँमा टेक्निकल इन्स्टिच्युट स्थापना गरे। त्यसपछि लगातार व्यवसायमा होमिएका उनले म्यानपावर, ट्राभल, मेडिकल सेन्टर लगायत अनेक व्यवसायमा हात हाले। यद्यपि राजनीतिबाट फुत्किन सकेनन्। 

०७० सालमा गाउँमा कांग्रेसका प्रतिस्पर्धीलाई हराउन सक्ने उम्मेदवारको खोजी हुँदै थियो। त्यहीक्रममा धेरैको मुखबाट नाम आयो– एलपीले हराउन सक्छ। २०७० सालको चुनावमा झापा–५ बाट उनी एमालेको उम्मेदवार बने। आफू त्यति तयारीमा नभए पनि साथीहरूको जोडमा उम्मेदवारी दर्ता गराएको बताउने उनी थोरै मतान्तरले पराजित भए। 

‘७० को चुनावमा म २४० मतले हारेँ। मलाई लाग्यो— अझै जनतासँग नजिक जान बाँकी छ,’ लिम्बूले आत्मसमीक्षा गरे। 

हारको भोलिपल्टबाटै एलपी गाउँ–गाउँ धाउन थाले। कुलो–कुलेसो, सडक–पुल, मठ–मन्दिर— हरेक समस्या बुझ्दै हिडे। 

‘मैले के गरेँ भनेर भन्नुपर्दैन, गाउँलेहरू आफैँ भन्छन्— यो भयो, त्यो भयो,’ एलपीले भने। 

२०७४ को चुनावी परिणामले पनि त्यस्तै देखायो। एमाले–माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका लिम्बूले चुनाव जिते र पहिलोपल्ट संसदीय यात्रा तय गरे। 

सांसदको खास काम कानुन निर्माणमा सक्रिय हुने हो। तर चुनावताका विकासको आश्वासन दिनुपर्ने बाध्यताका कारण सांसदलाई कानुन मात्रै बनाउँछु भनेर सुख छैन। यो लिम्बूले पनि महसुस गरेका छन्। 

‘गाउँमा जाँदा जनताले भन्छन्— तपाईंले त बाटो बनाउने भनेर भोट माग्नुभएको हो, अब के भयो?’ लिम्बू भन्छन्, ‘सांसदको काम कानुन बनाउने हो भनेर किताबमा लेखिए पनि, गाउँको जनताले अपेक्षा गर्ने भनेको बाटो हो, पुल हो, विद्यालय लगायत विकास पनि हो।’

त्यसैले लिम्बू स्वयं धेरैपटक गाउँका योजना लिएर मन्त्रालय धाएका छन्, पुल बनाउन भेला डाकेका छन्, बाटो कालोपत्रे गराउन सिंहदरबार गुहारेका छन्। 

‘सांसद भएदेखि मैले गाउँ छाडेको छैन, गाउँको विकासमा पनि धेरैहदसम्म गर्न सकेको छु,’ उनले यो कार्यक्रममा आफ्नो निर्वाचन क्षेत्रका लागि गरेको योगदानको फेहरिस्त सुनाएका छन्। 

सांसद भएयता नै लगातार उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहेका काम गरिरहेका लिम्बूले उद्योगी र श्रमिकको हकहितका निम्ति निरन्तर आवाज उठाइरहेको बताउँछन्। 

लिम्बूलाई राजनीतिक गफ गरेर होइन, गाउँको विकास गरेर चिनिन मन छ। चुनावी भाषणमा बाँडेका सपनालाई उनले कागजमा मात्र सीमित राखेनन्— केही हदसम्म गाउँका कुलोमा, सडकको कालोपत्रेमा र पुलको गजुरमा उतारेका छन्। 

संसदमा अहिले सांसदहरू चर्चाका लागि जे पनि बोल्न तयार हुने प्रवृत्ति बढेको उनको तर्क छ। 

‘संसदमा जे पनि बोलेर स्टन्ट गर्न खोज्ने, अराजकता पैदा गर्ने कुराले मुलुकलाई निकास दिँदैन,’ उनी भन्छन्, ‘दुईचार दिन एउटा इस्युमा भाइरल भइन्छ। तर मुलुकको रियल ग्राउन्ड के हो? आर्थिक स्थिति के हो? भौगोलिक अवस्था के हो? जो अराजक भएर आए, उनीहरू अरु पनि अराजक भएर आऊन् भन्ने ठान्छन्।’

अचानक सांसद बनेर आएका नयाँ माननीयहरूले संसदको मर्मलाई बुझ्न नसकेको उनको मत छ। 

‘कतिपय नयाँ माननीयहरू पहिलोपल्ट संसदमा पुग्नुभएको छ। के हो थाहा छैन, के गर्नुपर्ने पनि थाहा छैन। कुद्दाकुद्दै छिरेको छ। कुद्दै थियो अन्त, छिर्‍यो भित्र,’ उनले भने। 

हेर्नुहोस्, ‘संसदमा म’, जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाटः

फोटो/भिडिओः सरोज नेपाल

असार ९, २०८२ सोमबार २२:१९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad