नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा पाण्डेले भिजिट भिसा प्रकरण राष्ट्रिय समस्या भएकाले माओवादीसँग भएको दुईबुँदे सहमतिलाई कार्यान्वयन गर्न माग गरे।
उनले एक महिनाभित्र छानबिन समिति गठन गर्ने प्रतिबद्धता गृहमन्त्रीले रोस्ट्रमबाटै गरेकाले पनि ढिलाइ नगर्न आग्रह गरे। पाण्डेले भिजिट भिसा प्रकरणमा दुईबुँदे सहमति गरेपछि पनि अहिलेसम्म समस्या समाधान नभएको धारणा राखे।
यसअघि, भिजिट भिसा प्रकरणका कारण निरन्तर सदन अवरुद्ध भएपछि सत्तापक्ष र माओवादीबीच दुईबुँदे सहमति भएको थियो। सहमतिसँगै माओवादीले विरोधका कार्यक्रम रोके पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने छानबिन समितिको माग गर्दै सदनमा निरन्तर विरोध जनाउँदै आएका छन्।
Shares

प्रतिक्रिया